Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा सत्तरी बर्षकी बृद्धा हत्याका तीनजना प्रतिवादी कारागार चलान


4.5K
Shares

गोरखामा सत्तरी बर्षकी बृद्धा हत्याका तीनजना प्रतिवादी कारागार चलान

गोरखा, २६ असोज ः सत्तरी बर्षकी बृद्धाको हत्याका तीनजना प्रतिवादीहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका–१, श्यामचेतकी ७० बर्षकी बृद्धा सुनमाया लामाको हत्याका प्रतिवादीहरुलाई जिल्ला अदालत गोरखाको आदेशमा बिहिबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी समेत रहनु भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कारागार चलान हुनेहरुमा सोही ठाउँका २९ बर्षका कर्मा छिरिङ लामा, १९ बर्षका साने भनिने सुपराज लामा र १९ बर्षका अन्जय लामा गुरुङ रहेका छन् । गएको भदौ २८ गते साँझ करिब ६ बजेको समयमा घरमा एक्लै भएको मौका छोपेर कर्मा र सुपराजले मिलेर बृद्धा सुनमायाको हत्या गरेका थिए । अन्जयले भने हत्यापछि उनिहरु भगाउन भूमिका खेलेको पुष्टी भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

हत्या भएको दुई दिनपछि भदौ ३० गते विहान एककोठे कच्ची घरमा शंकास्पद देखिनेगरी झुण्डिएको अवस्था सुनमायाको शव फेला परेपछि हत्याको आंशकामा प्रहरीले गहिरो गरी अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेको उनिहरुले गरगहना लुटपाट गर्ने उद्देस्यले बृद्धाको हत्या गरेको खुलेको उहाँको भनाई छ ।

प्रहरी निरीक्षक शेखर खड्काकोे नेतृत्वको टोलीले गरेको प्राविधिक तथा बस्तुपरक अनुसन्धानका क्रममा उनिहरुले भदौ २८ गते करिब साँझ ६ बजेको समयमा सुनमायालाई घरमै घाँटीमा दुवै तिरबाट डोरीले कसेर हत्या गरी घटनालाई घटना ढाकछोप गर्न घर भित्र कोठाको बलोमा मृतकको शव झुण्ड्याएको पुष्टी भएको डिएसपी श्रेष्ठको भनाई छ ।

हत्यापछि कर्मा र सुपराजले मृतकको कानमा रहेको सुनका रिङ्गहरु समेत लुटेर भागेका थिए । घटनाको सम्पूर्ण अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत तिनै जना बिरुद्ध जिल्ला अदालत गोरखामा कर्तव्य ज्यान कसूर शीर्षकमा मुद्दा गरेको थियो ।

सोही क्रममा अदालतले घटनामा संलग्न सवैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतको आदेशपछि उनिहरुलाई कारागार चलान गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology