गोरखा, २५ असोज : गोरखा जिल्लाको प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिने मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक पहल गर्न स्थानीयबासीहरुले माग गरेका छन् ।
बुधबार मनकामना मन्दिरको सरसफाई कार्यक्रममा सहभागी हुन पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीसंगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीबासी तथा सरोकारवालाहरुले मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न माग गरेका हुन् ।
मनकामना मन्दिरको समग्र विकास, व्यवस्थापन र संरक्षण लगायतका बिषयमा मन्त्री किरातीसंग स्थानीयबासीले चासो व्यक्त गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएका गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘रणनीतिक रुपमा मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न कसरी पहल हुन्छ भन्ने बिषय स्थानीयबासीहरुले जिज्ञासा राखेका थिए ।’’
अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासामा धारणा राख्नु हुँदै मन्त्री किरातीले मन्दिरको संरक्षण, रेखदेख र व्यवस्थापन स्थानीय सरकारले नै गर्ने गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले मन्दिरसंगै यसक्षेत्रको विकासमा सरकारले खेल्नुपर्ने भूमिका बिषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा मनकामना क्षेत्र विकास समितिका पदाधिकारी, मनकामना जिर्णोद्धार समिति, स्थानीय युवा क्लबका प्रतिनिधिहरु, गोरखा उद्योग बाणिज्य संघ मनकामना बजार इकाईका प्रतिनिधि तथा स्थानीयबासीहरुको सहभागीता रहेको थियो ।