गोरखा, २१ असोज । गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सिमान्तकृत महिलाहरुलाई व्यवसायिक बनाउदै आयआर्जन बृद्धिमा सहयोग पु¥याउने उद्देस्य सहित सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङ स्थित सामुदायिक भवनमा व्यवसायिक रुपमा सेनेटरी प्याड उत्पादन गर्ने योजना बनाएर महिलाहरुका लागि तालिम सञ्चालन गरिएको हो ।
गाउँपालिकाको समन्वय, युएसएआइडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ जना महिलाहरुको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिनुभयो ।
‘सहिद लखन गाउँपालिकालाई सेनेटरी प्याड उत्पादनमा आत्मानिर्भर बनाउने योजना अनुसार तालिम सञ्चालन गरिएको हो, उहाँले भन्नुभयो, ‘सहभागीहरुले तालिम सम्पन्न गरेपछि गाउँपालिका, एड्वान र प्रशिक्षार्थीहरुको सहकार्यमा पालिका भित्रै सेनेटरी प्याड उत्पादन गरी आयआर्जनको अवसर प्राप्त गर्नेछन् ।’
विद्यालय किशोरी कार्यक्रम अन्र्तगत गाउँपालिकाले सेनेटरी प्याड बाहिरबाट खरिद गरेर ल्याउनका लागि हरेक बर्ष बार्षिक रुपमा लाखौ रुपैया बिनियोजन गर्दै आएकोमा अवदेखि गाउँमै प्याड उत्पादन गरी महिलाहरुलाई रोजगारी पनि दिने र आर्थिक आयआर्जन बृद्धि गर्दै विपन्न तथा सिमान्तकृत महिलाहरुलाई आत्मानिर्भर बनाउने योजना रहेको संयोजक बसेलको भनाई छ ।
‘यसले महिलाहरुलाई आत्मानिर्भर पनि बनाउछ, उहाँले भन्नुभयो, ‘गाउँपालिका पनि सेनेटरी प्याडमा आत्मानिर्भर हुने हुदाँ रोजगारीको सृजना पनि हुन्छ ।’ तालिम सम्पन्न भए लगत्तै गाउँपालिका, एड्वान र तालिममा सहभागी महिलाहरु मिलेर संयुक्त रुपमा सेनेटरी प्याड उत्पादन सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
सेनेटरी प्याड निर्माणका लागि आवश्यक पर्ने मेसिन समेत खरिद गरी सोही मेसिनबाट नै प्याड उत्पादनको तालिम सञ्चालन भइरहेको हो । मेसिन खरिदका लागि गाउँपालिका र एड्वानले ५÷५ लाख रुपैया लगानी गरेको छ भने तालिममा सहभागी २१ जना महिलाहरुले १५÷१५ हजार रुपैयाका दरले ३ लाख १५ हजार रुपैया लगानी गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकामा उत्पादन गर्न लागिएको सेनेटरी प्याड बजारमा अहिले पाइने सवै प्याडहरुसंग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय प्याड उत्पादन गर्ने तयारी गरिएको छ । प्याड उत्पादनपछि प्याकेजिङ र किटाणु रहित बनाउनका लागि आवश्यक थप दुईवटा मेसिन खरिदका लागि समेत तयारी भइरहेको संयोजक बसेलले जानकारी दिनुभयो ।