गोरखा, १८ असोज । लामो समयसम्म सडक बिस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ । गोरखा नगरपालिका र वडाहरुको समन्वयमा सदरमुकामा क्षेत्रको मुख्य सडक विस्तार संगै सुविधा सम्पन्न फुटपाथ निर्माण गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयोे । बहुबर्षिय योजना अन्तरर्गत गर्न लागिएको सडक बिस्तारको पहिलो चरणमा गोरखा नगरपालिका–६ स्थित पुरानो बसपार्कदेखि वडा नम्बर ८ को खोलखोलेसम्म सडक विस्तारसंगै सुविधा सम्पन्न फुटपाथ निर्माण हुने उहाँले बताउनुभयो ।
‘पहिलो चरणमा पुरानो बसपार्कदेखि खोलखोले क्षेत्रको सडक विस्तार गरी फुटपाथ बनाउन लागिएको हो’ मेयर रानाले भन्नुभयो ‘साँघुरो सडकलाई चौडा गर्न र दुवैतर्फ नाला निर्माणकालागि नाँपजाचको काम सम्पन्न भएको छ ।’ नगरपालिकाले सडक विस्तारका लागि प्राविधिक सहितको टोली परिचालन गरी पुरानो बसपार्कदेखि खोलेखोले क्षेत्रसम्मको नाँपजाच समेत गरिसकेको उहाँले बताउनुभयो ।
सडक विस्तार गर्न पहिलो चरणमा नगरपालिकाले ८० लाख रुपैयाँ बिनियोजन गरेको छ । नगरपालिकाका इन्जिनियर प्रकाश ढकालका अनुसार प्रारम्भिक सर्भेको काम सम्पन्न भएको भइसकेको छ । सडक कति मिटरको बनाउने, कस्तो खालको फुटपाथ बनाउने र नाला कस्तो बनाउने भन्ने बिषयमा छलफल योजना भइरहेको छ’ ‘इन्जिनियर ढकालले भन्नुभयो ‘एउटै प्याकेजमा काम हुने गरी डिपिआर तयार गर्ने तर्फ नगरपालिकाको योजना बनाएको छ ।’
सडक चौडा गरी नयाँ नाला निर्माण गरेर त्यहाँ भएका क्यारीलाई फालेर सुविधा सम्पन्न फुटपाथ सहित बत्तीको ब्यवस्था गर्दा करिब १२ करोड जति खर्च लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । पुरानो संरचना बनाएर सुविधा सम्पन्न संरचना निर्माण गर्ने नगरपालिकाको योजना रहेको ढकालको भनाई छ ।
सडक विस्तार र दुवैतर्फ नालाको निर्माणका लागि वडा कार्यालयले समेत पहिलो चरणमा केही रकम बिनियोजन गरेको गोरखा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशीले जानकारी दिनुभयो । ‘वडाबाट अहिले हामीले अहिले १० लाख रुपैयाँ छुट्टाएका छौ’ उहाँले भन्नुभयो ‘बहुबर्षिय योजना भएका कारण डिपिआरपछि पनि बाहिरबाट पैसा नआएको खण्डमा स्थानिय स्तरबाट नै रकम बिनियोजन गरेर काम सम्पन्न गर्ने छौ ।’
नगरपालिकाले कात्र्तिक महिना भित्रै डिपिआर तयार गरेर टेण्डर आवहन गर्ने र मंसिर महिनाबाटै कामको थालनी गर्ने तयारी गरेको छ । नयाँ संरचना अनुसार सडक विस्तार गर्दा अहिले भईरहेको नाला पुरेर नाला माथी पनि सडक बन्ने छ भने फुटपाथ संगै नाला निर्माण हुनेछ । फुटपाथमा रंगिन प्रकारका ब्लक राखिने छ । अहिले अव्यवस्थित रहेको सवारी पार्किङ्गलाई पनि सडक विस्तारसंगै व्यवस्थित गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।