काठमाण्डौं १५ असोज । महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँको राजीनामा स्विकृतिका लागि गहमन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिनुभयो । गएको जेठ १९ गते महिला प्रहरी हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँमाथि प्रहरीले छानबिन समितिसमेत गरेको थियो ।
समितिले एसएसपी पाललाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो। त्यसअनुसार असार १ गते गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो। निलम्बनमै रहेका एसएसपी पालले राजीनामा दिएसँगै प्रहरी प्रधान कार्यालय नक्सालले स्वीकृतीका लागि गृहमा पठाएको हो।