गोरखा १५ असोज : हरेक बर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५, र गोरखा नगरपालिका–८ का बासिन्दाहरुलाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता बर्षौदेखिको हो । खोलामा झोलुङ्गे पुल समेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई वारीपारी गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्य जस्तै थियो ।
तर गएको बर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने बर्षौदेखि कठिनाइ भोग्दै आएका त्यहाँका बासिन्दाहरुलाई अहिले सजिलो भएको छ । गण्डकी प्रदेश सरकार अन्र्तगत पूर्वाधार बिकास कार्यालय लम्जुङ र वल्र्ड बैंकको आर्थिक सहयोगमा लुदीखोलामा पक्की पुल निर्माण भएपछि ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको हो ।
‘बर्खामा नदी र खोलाहरुमा यसैपनि पानी सतह बढी हुनेभएकाले जोखिम हुने नै भयो, गोरखा नगरपालिका–८, लक्ष्मीबजारका ६९ बर्षका हर्कबहादुर थापाले भन्नुभयो, ‘त्यसमाथि लुदीखोलामा त बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिदैन थियो, अहिले पुल बनेपछि धेरै सजिलो भएको छ ।’
पुल नहुँदा पैदलयात्रुलाई मात्र होइन मोटरसाइकल लगायतका सवारी साधनहरु समेत बर्खाका बेलामा जोखिम मोलेर खोलाबाट वारपार गराउन पर्दाको कठिनाइ उस्तै थियो । मेलापात र अर्मपर्म गर्नका लागि मात्र नभएर नजिकको बजार गोरखा सदरमुकाममा पुगेर दैनिक उपभोग्य सामाग्री खरिदका लागि ताक्लुङ्ग र आसापासका बासिन्दालाई लुदीखोला वारपार नगरी सुखै थिएन ।
‘छोटो र मुख्यबाट बाटो भएकाले पनि घण्टौ लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा अधिकांस मानिसहरु जोखिम मोलेरै खोला वारपार गर्ने गर्दथे ।’ अर्का स्थानीयबासी रामचन्द्र ढकालले भन्नुभयो । ‘बर्खाका बेला घाँटीघाँटीसम्म आउने खोला तरेरै भएपनि काम टार्न पर्थ्र्यो, उहाँले भन्नुभयो, ‘हामी कयौं पटक लौरोले पानी नापेर पनि खोला वारपार गरियो ।’ लुदीखोलामा अहिले २१.७० मिटर लम्बाई र ६ मिटर चौडाइको पक्की पुल निर्माण भएपनि यहाँका बासिन्दाले बर्षौदेखि भोग्दै आएका समस्या हटेको छ ।
पुलनिर्माण भएसंगै गाउँपालिका भित्र उत्पादन हुने कृषिजन्य सामाग्रीहरुको बजारीकरणका लागि समेत सजिलो भएको सहिद लखन गाउँपालिका–५ ताक्लुङ्गकी सानुमाया परियारले बताउनुभयो । सहिद लखन गाउँपालिकाबाट लुदीखोला हुदैँ मुख्यराजमार्ग पृथ्वीराजमार्गसंग जोडिएको सवैभन्दा छोटोबाटो भएकाले पनि लुदीखोलामा पक्की पुल बनेपछि त्यहाँका स्थानियबासीहरुलाई राजधानी काठमाण्डौ, पोखरा, चितवन लगायतका शहरहरु आवात–आवतमा समेत छिटो र सजिलो भएको उहाँले बताउनुभयो ।
भोलुङ्गेपुल समेत नहुँदा यहाँका स्थानियबासीहरुले बर्खाका समयमा अत्यावश्यक काम खोला तर्नै नसक्ने अवस्थामा लामोदुरी हुदैँ घमेर एकदिन नै लगाएर गोरखा सदरमुकाम पुग्नु पर्ने बाध्यता समेत रहेको थियो । लुदीखोलामा कुल ३ करोड ४४ लाख ३१ हजार रुपैयाको लागतमा पक्की पुल निर्माण गरिएको हो । (रासस)