गोरखा, १४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा अस्पतालको स्तरोन्नतीका लागि प्रदेश सरकारको प्राथामिकता रहेको बताउनु भएको छ । अस्पतालको निरीक्षणका लागि आज दिउँसो पुग्नु भएका उहाँले गोरखा अस्पतालको सेवा सुविधा बिस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले चिकित्सकहरु र स्वास्थ्यकर्मीको सुरक्षाका बिषयमा सरकार गम्भीर रहेको भन्दै राज्यले आवश्यक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘डाक्टरहरुलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौँ, उहाँले भन्नुभयो, ‘तर काम सबै रोकेर बस्नु भएन ।’
अस्पताल तोडफोड गर्ने र डाक्टर कुट्नेहरुलाई कुनै पनि वाहानामा उन्मुक्ति दिन नहुने मुख्यमन्त्री पाण्डेको भनाई छ । अस्पतालमा भएका घटनामा संलग्न जुनसुकै पार्टीको भएपनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
‘कुटपिट र तोडफोड गर्नेहरु जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभुती सद्भाव केही पनि रहँदैन, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनैपर्छ ।’
अस्पताल निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री पाण्डेलाई गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले अस्पतालको आवश्यकता लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।…