गोरखा, १३ असोज : गोरखामा सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै नियन्त्रणमा लिइएको छ । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले आज विहान गोरखा सदरमुकामको खोलखोलेबाट चारवटा सरकारी सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका सवारी साधानहरुमा जिल्ला समन्वय समितिको बा २ झ २९८ गाडी र बाग्मती प्रदेशको बिएबी ९१९८ गाडी रहेको उहाँले बताउनुभयो । त्यस्तै पूर्वाधार विकास कार्यालयको प्रदेश ३ ०२ ००१ ब ३६४० नम्बर र पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्बरको मोटरसाइकल नियन्त्रणमा हो ।
‘नियन्त्रणमा लिएका सवारी साधनले पास लिएर चलाएको नचलाएको भन्ने बारेमा जाँचबुझ भइरहेको छ, इन्चार्ज भण्डारीले भन्नुभयो, ‘नियम अनुसार प्रसासनबाट पास नलिई चलाएको रहेछ भने कारवाही गर्छौ ।’ सार्वजनिक बिदाको दिन सरकारी सवारी साधान चलाउन पास लिनुपर्ने व्यवस्था रहेको छ ।
सार्वजनिको दिन जिल्ला प्रसासन कार्यालयबाट पास लिएर मात्र चलाउनु पर्ने भएपनि जथाभावी सञ्चालन गरी दुरुपयोग गरेको भन्दै युवासंगठनले बिदाका दिन चलाउने सरकारी सवारी साधनमा निगरानी बढाएको नेकपा माओवादीका जिल्ला इन्चार्ज कपिल भट्टले जानकारी दिनुभयो ।
सार्वजनिक बिदाका समयमा सरकारी सवारी साधनको दुरुपयोग भएको भन्ने पार्टीमा गुनासो आएकोले आज सदरमुकामको खोलखोले क्षेत्रमा कार्यकताहरु बसेर दुरुपयोग गरेका सवारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको उहाँले बताउनुभयो।