Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

लिगलिगको राजा छान्न हुने दौड प्रतियोगिताका लागि अनलाईन फारम खुल्ला


5.1K
Shares

लिगलिगको राजा छान्न हुने दौड प्रतियोगिताका लागि अनलाईन फारम खुल्ला

गोरखा, ११ असोज । लिगलिगकोट राजा छनोट गर्न लागि हरेक बर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुका लागि यसबर्ष अनलाइन मार्फत फारम भर्न खुल्ला गरिएको छ । लिगलिग बिकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८० ’मा सहभागी हुन चाहाने खेलाडीहरुका लागि अनलाइन फारम भर्न खुल्ला गरिएको अभियानका अध्यक्ष सञ्जिव रानामगरले जानकारी दिनुभयो ।

कात्तिक १ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले यहीँ असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने उहाँको भनाई छ । अभियानले यस पटक एघारौँ संस्करणको लिगलिगे दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने धावकलाई एकबर्षका लागि लिगलिगकोटको सांकेतिक राजा घोषणा गर्ने प्रचलन रहदै आएको छ ।

गोरखा र लम्जुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर समापन हुने गर्दछ ।प्रतियोगितामा उपाधी विजेता खेलाडीलाई नगद एक लाख रुपैया सहित श्रीपेच पगरी, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको अध्यक्ष थापामगरले बताउनुभयो ।

मेन इलिट (खुल्ला) प्रतियोगिता तर्फ सहभागी खेलाडीहरुले निर्धारित १३.८ किलोमिटर दुरी पार गर्नुपर्नेछ । प्रतियोगितामा दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथो हुनेलाई १४ हजार र पाँचौ हुने विजेतालाई १० हजार पुरस्कारको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । तीन समुह चरणमा हुने प्रतियोगितामा स्थानीवासी र विद्यार्थीहरुले पनि छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।

स्थानीय खुल्लातर्फ भाग लिएर विजेता हुन खेलाडीहरु मध्ये प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । विद्याथीहरु तर्फ प्रतियोगितामा सहभागी हुन पाउने १८ बर्षभन्दा मुनिका छात्रहरुले भने पालुङटार नगरपालिका–३ को मैवलबाट कालिका मन्दिरसम्मको तीन किलोमिटर दौड पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल एकीकरण अघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिदै आएको छ । वि.सं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहले दौडमा बिजय हासिलगरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology