गोरखा, २३ भदौ । सेवाग्राहीहरुको गुनासो सुन्नका लागि जिल्ला प्रसासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिका सञ्चालनमा ल्याइएको छ । कार्यालयले २० औं निजामती सेवा दिवसको अवसर पारेर आजदेखि विद्युतीय गुनासो पेटिका सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
क्यूआर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्म भरेर गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरी कार्यालयले विद्युतीय गुनासो पेटिकाको सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । सञ्चालनमा ल्याइएको गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालयसहित जिल्ला भित्र रहेका अन्य सरकारी तथा अर्धसरकारी कार्यालयहरुहरुको गुनासो र उजुरी समेत राख्न सकिने व्यवस्था गरिएको छ ।
‘विद्युतीय गुनासो पेटिकामा कार्यालयहरुको सेवाप्रवाह, जिल्ला भित्रको विकास निर्माणको अवस्था, सुशासन लगायत अन्य गुनासो र सुझाव लेखेर पठाउन सकिनेछ्, प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो, ‘त्यस वाहेक सेवाग्राहीले कार्यालयमा भोगेका अफ्टयारा, समस्याहरुको सम्बन्धमा उजुरी पनि गर्न सकिने व्यवस्था छ ।’यसअघि पनि फेसबुक ट्विटर इमेल लगायतका अन्य सामाजिक सञ्जालबाट नागरिकहरुको सुझाव र गुनासो लिदै आएको कार्यालयले विद्युतीय गुनासो पेटिका सञ्चालनमा ल्याएसंगै अव ‘ई–गभर्नेन्स’ को माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारीसंगै सुशासनमैत्री तथा जनउत्तरदायी बनाउन सहयोग पुग्ने उहाँको भनाई छ ।
कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्ना गुनासो र उजुरी राख्न सहज बनाउने उद्देस्यले विद्युतीय गुनासो पेटिका सञ्चालनमा ल्याएको हो । गुनासो पेटिकामा प्राप्त सुझावलाई कार्यालयले अमूल्य सम्पतीको रुपमा लिएर सेवा प्रवाहमा सुधारको प्रयास गरिने प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।
त्यस्तै प्राप्त गु्नासो र उजुरीहरु उजुरीकर्ता एवंम गुनासोकर्ताहरुको गोपनीयताको पूर्णरुपमा संरक्षण गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउदै लैजाउने कार्यालयले जनाएको छ । क्यूआर कोड कार्यालयको फेजबुक पेज, वेबसाइड लगायतमा समेत सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।