काठमाडौ, २१ भदौ । काठमाडौं महानगरपालिका(१६का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुनभयो ।
आज वडाध्यक्षजी बित्नुभएको हुँदा भोलि शोक बिदा दिइएको छ, प्रवक्ता मानन्धरले भन्नुभयो । वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उहाँलाई ग्रान्डी अस्पताल लगिएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया भाइरल निमोनिया देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उपचारका क्रममा आज बिहान ७ः३० बजे रिजालको निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रिजाललाई डेंगीसमेत लागेको थियो ।
उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए । रिजाल २०२७ सालमा जन्मेका थिए।
उनी २०४६ को जनआन्दोलमा प्रहरी हिरासतमा रहेका थिए । सरस्वती क्याम्पसमा पढ्दा नेविसंघमा आवद्ध भएर उनले राजनीतिमा प्रवेश गरेका थिए। रिजालले मानव अधिकारवादी संघ संस्थामा रहेर पनि काम गरेका थिए ।