Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

यौन शोषणको आरोपमा तथ्याङ्क कार्यालयका हाकिम भण्डारी पक्राउ


2.7K
Shares

यौन शोषणको आरोपमा तथ्याङ्क कार्यालयका हाकिम भण्डारी पक्राउ

चितवन १८ भदौ । तीन बर्षदेखि कार्यालय साहायकलाई यौन शोषण गरेको आरोपमा जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीले एक कार्यालय सहयोगीलाई तीन वर्षयता यौन शोषण गरेको खुलेको हो । गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भ पतन गराउँदा ३५ वर्षकी कार्यालय सहयोगीको ज्यान जोखिममा परेपछि यो घटना बाहिर आएको हो ।

कार्यालयमा कार्यरत आमा प्यारालाइसिस भएपछि उनी तीन वर्षयता सहयोगीको रूपमा काम गरिरहेको थिइन् । गर्भ बसेको चार महिना भएपछि ‘नचिनेको क्लिनिकमा गएर गर्भपतन गर’ भनेर दबाब दिँदा १४ हप्तामाथिको गर्भपतनको अनुमतिसमेत नभएको प्रगति पोलिक्लिनिक भरतपुरमा उनी गएकी थिइन् ।

चितवनमा भरतपुर अस्पतालबाहेक अरु अस्पताललाई १४ हप्तामाथिको गर्भपतन गराउने अनुमति छैन । प्रगति पोलिक्लिनिकले पनि गर्भपतन गराउन सूचीकृतको लागि आवेदन दिएपनि स्वीकृत भएरनभएको जानकारी नआएको जिल्ला स्वास्थ्य कार्यालय चितवनकी फोकल पर्सन नन्दकली चापागाईँले बताइन् । अनुमति पाएपनि १४ हप्तामाथिको गर्भपतन गराउन भरतपुर अस्पतालमात्रै सूचीकृत छ ।

भरतपुरको अस्पताल रोडमा रहेको क्लिनिकमा गत मंगलबार भदौ १२ गते गर्भपतनको लागि पुगेकी थिइन् । उनलाई औषधि खुवाएर गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएपछि भदौ १३ गते राति भरतपुर अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालकी ओसीएमसी शाखाकी नर्स कल्पना खनालले भदौ १३ गते राति अत्यधिक रक्तश्राव भएपछि क्लिनिकका डाक्टर आफैंले अस्पतालको आईसीयूमा ल्याएर भर्ना गरिदिएको बताइन् । उनका अनुसार गर्भ राम्रोसँग नगएकोले अस्पतालमा लगेर महिलाको पाठेघर पुनस् सफाइ समेत गर्नुपरेको थियो ।

तर, उनलाई तीन दिनसम्म पनि भेट्न आफ्नो मान्छे नगएपछि अस्पतालमा कार्यरत डाक्टर तथा नर्सले नै सोधपुछ गर्दा यौन शोषणपछिको घटना भन्ने थाहा पाएको नर्स खनालले जानकारी दिइन् । हाल उनी भरतपुर अस्पतालमा नै उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । उनले आफूलाई तीन वर्षयता पटक-पटक यौन सम्पर्कको लागि दबाब दिने गरेको बताइन् ।

उनले भनिन्, ‘म अफिसको तल बस्थेँ, त्यही घरको बीच तलामा कार्यालय थियो, कार्यालयको माथिल्लो भागमा हाकिम सर बस्नुहुन्थ्यो । उहाँले हाकिमले भनेपछि जतिबेला पनि आउनुपर्छ भनेर दबाब दिनुहुन्थ्यो त्यहि भएर म बोल्न सक्थिनँ ।’ उनलाई अहिले अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले हेरचाह गरिरहेको छ ।

उनी विवाहित भएपनि विवाह पछि श्रीमान्‌सँग सम्बन्ध राम्रो नभएपछि एक्लै बस्दै आएकी थिइन् । उनको माइतीमा बुबा र सौतेनी आमा छन् भने आफ्नो आमा प्यारलाइसिसका कारण थला परेकोले अरुको सहायता लिनुपर्ने अवस्थामा रहेको बताइन् ।

प्रमुख भण्डारीलाई हिरासतमा लिएर आइतबार जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवन स्रोतले जानकारी दिएको छ । ४४ वर्षका भण्डारीको स्थायी घर पूर्वी नवलपशोरासीस्थित सुनवल नगरपालिका १२ हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology