एजेन्सी, ६ भदौ । भारतको ऐतिहासिक चन्द्र मिसन आज चन्द्रमाको सतहमा अवतरण हुँदै छ । आज भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ । चन्द्रयान–३ को सफलता भारतका लागि नयाँ इतिहास हुनेछ र यो पृथ्वीको उपग्रहमा अवतरण हुने पहिलो भारतीय अन्तरिक्षयान हुनेछ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले ५ बजेर ३५ मिनेटदेखि चन्द्रयान–३ को अवतरण लाइभ गर्ने घोषणा गरेको छ । यो लाइभ इसरोको वेबसाइट र युट्युब च्यानलमा हेर्न सकिनेछ ।
ल्यान्डर विक्रम र रोभर प्रज्ञानसहितको चन्द्रयान–३ को ल्यान्डर मोड्युलले अवतरणका लागि उपयुक्त स्थानको खोजी गरिरहेको छ । यसअघि सन् २०१९ मा भारतको चन्द्र मिसन चन्द्रयान–२ चन्द्रमाको सतहबाट २।१ किलोमिटर टाढा रहँदा सञ्चार गुमेपछि असफल भएको थियो । आज अवतरणमा केही समस्या भएमा इसरोका वैज्ञानिकहरूले अगस्ट २७ का लागि अर्को अवतरण मिति तय गर्ने बताएका छन् ।