गोरखा, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इन्चार्ज र संयोजकमा हेरफेर गरिएको छ । पार्टीको आइतबार बसेको गण्डकी प्रदेश समितिको सातौ पूर्णबैठकले गोरखा जिल्ला संयोजकको जिम्मेवारी प्रदेश समितिका सदस्य दीपक तिमेल्सिनालाई तोकिएको प्रदेश सचिव जगन्नाथ खनालले जानकारी दिनुभयो । त्यस्तै केन्द्रीय समितिले गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य दीपक कोइरालालाई दिएको उहाँले बताउनुभयो ।
यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहनु भएका नेता बिष्णुप्रसाद भट्टलाई पार्टीले केन्द्रीय सदस्यमा चयन गरेपछि प्रदेश समितिले तिमेल्सिनालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको सचिव खनालले बताउनुभयो । नेता तिमेल्सिना गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष समेत हुनुहुन्छ ।
त्यस्तै गोरखा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका केन्द्रीय सदस्य अमर तमुलाई केन्द्रले नवलपुर जिल्ला समितिको इन्चार्जको जिम्मेवारी दिएपछि गोरखा जिल्ला पार्टीको इन्चार्जमा भने यसअघि पोखरा महानगरपालिकाका इन्चार्ज रहनु भएका कोइरालालाई केन्द्रले जिम्मवारी दिएको उहाँले बताउनुभयो ।
माओवादी केन्द्रले यहीँ भदौ १६, गतेदेखि सञ्चालन गर्न लागेको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लाई मध्यनजर गण्डकी प्रदेश भित्रका सवै जिल्लाको इन्चार्जको जिम्मेवारीमा हेरफेर गरेको सचिव खनालले जानकारी दिनुभयो । त्यस वाहेक प्रदेश भित्र जिम्मेवारीमा रहेका पार्टीका केन्द्रीय सदस्यहरुलाई अन्तर जिल्ला र प्रदेश समितिका सदस्यहरुलाई अन्तर पालिकामा जिम्मेवारी तोकेको उहाँले बताउनुभयो ।
जसमा लमजुङ जिल्लाको इन्चार्जमा आशा खनाल, पर्वत इन्चार्जमा बलावती शर्मा, तनहुँमा शैलेन्द्र घिमिरे, मनाङमा बुद्धिराम गुरुङ, म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामालाई इन्चार्जको जिम्मेवारी दिइएको सचिव खनालले जानकारी दिनुभयो ।