गोरखा, ३२ असार । साउन महिना सकिन लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ८० प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । अघिल्ला बर्ष यति बेला जिल्लामा रोपाइँ सम्पन्न भइसक्ने गरेको भएपनि जिल्लामा यसबर्ष भने रोपाइँ गर्न ढिलाई भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताउनुभयो ।
आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण मनसुन ढिला भित्रिएको र समयमा पर्याप्त पानी नपरेका कारण रोपाइँ गर्न ढिलाई भएको उहाँको भनाई छ । ‘यस पटक मनसुन ढिला गरी सुरु भयो, ढिला गरी मनसुन सुरु हुनु र बर्षा कम हुँदा मूल फुट्न ढिला पनि भयो, उहाँले भन्नुभयो, ‘पानी ढिला गरी परेकाले टारी खेतहरुमा रोपाइँ गर्न ढिलाई भयो ।‘
एघार हजार २ सय ६६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको भएपनि असारको अन्तिम सातासम्ममा यसपाली करिब ९ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मात्र रोपाइँ सकिएको प्रमुख अधिकारी बताउनुभयो । मुख्य गरि जिल्लाको पालङटार नगरपालिका, गण्डकी गाउँपालिका लगायतका क्षेत्र आकाशेपानीको भरमा रोपाईँ गनुपर्ने बाध्यता रहेका ति क्षेत्रमा रोपाइँ गर्न बाँकी रहेको उहाँको भनाई छ ।
‘कुलो तथा सिञ्चाईको सुविधा भएका फाँट तथा खेतहरुमा भने साउनको दोस्रो साता तिरै रोपाई सकिएको थियो, प्रमुख अधिकारीले भन्नुभयो, ‘त्यस बाहेकका क्षेत्रका किसानहरु रोपाइँका लागि आकाशेपानी कुर्न पर्ने बाध्यताले ढिलो भएको हो ।’
गोरखा जिल्ला भित्र छेपेटार, भुसुण्डे फाँट, ज्यादुर खोला, आरुघाट ,ध्यालचोक, सिरानचोक, र ध्याम्पेसाल लगायतका स्थानहरु धान खेतीको हुने क्षेत्र रहेको कृषि ज्ञान केन्द्र गोरखाका कृषि अधिकृत प्रमोद गैरेले जानकारी दिनुभयो ।