काठमाडौं, २७ साउन । नागरिक उड्यन प्राधिकरणको नयाँ नियमका कारण हिमाली जिल्लाको हवाई उडान प्रभावित भएको छ । प्राधिकरणले दिउँसो १२ बजेपछि जहाज उडाउन नपाईने निर्णय गरेपछि हवाई यातायात प्रभावित हुँदा कर्णालीका नागरिक समस्यामा परेका छन् ।
उपचारका लागि काठमाडौ लैजान जिल्ला अस्पताल मुगुले रिफर गरेका बिरामी समेत जहाज नउडेकाले उपचारका लागि जान नपाएको गुनासो गरेका छन् । छायाँनाथ रारा नगरपालिका–१३ रुगाका दुर्गा रावत विरामी भएर थला परेको ६ महिना भयो ।
वर्षायाममा सडक अवरुद्ध भएकाले विमानबाट यात्रा गर्नुपर्ने बाध्यता भएपनि विमान नआउँदा उपचार नै गर्न पनाएको बुबा रामलाल लावडले बताउनुभयो । मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलु स्वास्थ्य चौकीमा कार्यरत हिमा बुढालाई समेत उपचारका लागि काठमाडौँ जानुपर्ने भएपनि जहाज नआउँदा ६ दिनदेखि रारा विमानस्थलमै बस्नुपरेको छ ।
कर्णालीका हिमाली जिल्लाहरुमा १२ बजेपछि हवाई जहाजमा उडानमा रोक लगाईए पछि यति बेला कर्णालीका नागरिक सास्ती खेपिरहेका छन् । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले १४ साउनबाट लागु हुने गरी यस्तो निर्णय गरेको थियो । बर्षातका कारण स्थल मार्ग अवरुद्ध छ । यस्तो बेला जहाज नउडेपछि कर्णालीका हिमाली जिल्लाका विरामीले सास्ती खेपिरहेका छन् भने खाद्य सङ्कटको चिन्ता समेत बढिरहेको छ ।