काठमाडौं, २७ साउन । देशभरका २२ वटा नदीमा आगामी तीन दिन बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशभा विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना रहेको छ ।
जसले गर्दा नदी तथा खोलामा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी जलाधार क्षेत्रका सप्ताकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा बाढीको सम्भावना रहेको छ ।
त्यस्तै, नारायणी जलाधार क्षेत्रका नारायणी, त्रिशुली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा बाढीको जोखिम रहेको छ । कर्णाली जलाधार क्षेत्रका कर्णाली, भेरी र पश्चिम सेतीमा पानीको सतह बढ्ने भएको छ। महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा पनि आगामी तीन दिन पानीको सतह उल्लेख्य मात्रामा बढ्ने आकलन गरिएको छ ।
यीसँगै शनिबार देशभरका खोलानालामा पनि बाढीको सम्भावना रहेको छ। त्यस्तै, आइतबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । सोमबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका खोला तथा नदीमा बाढी आउने आकलन छ ।
आगामी तीन दिन बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।