गोरखा, २६ साउन । गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेशीमा ब्यवसायीक ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । २०७७ साल चैत्र महिनामा बुढीगण्डकी नदी किनारमा लगाइएको उक्त खेतीले अहिले राम्रो उत्पादन दिन थालेको हो । करिब ७ रोपनी क्षेत्रफलमा लगाएको उत्तः खेतीबाट अहिलेसम्म ४ लाख रुपैयाँ आम्दानी लिन सफल भएको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिनुभयो ।
‘पहिलो बर्ष १ लाखको ड्रागन फ्रुट बेचेको थिए’ उहाँले भन्नुभयो ‘यो बर्ष ३ लाखको बेचि सके अझै ४ लाख आम्दानी हुनसक्छ ।’ ड्रागन खेती सुरु गरेको १३ महिनामा पहिलो पटक उत्पादन भई बिक्री सुरु गरेको गुरुङले जानकारी दिनुभयो । पहिलो बर्ष अपेक्षा गरिए अनुसार उत्पादन नभएपछि ड्रागन फ्रुटले यो बर्ष भने मनग्य आम्दानी दिएको गुरुङको भनाई छ ।
यो सिजनमा अहिलेसम्म ३ लाखभन्दा बढीको फल बिक्री गरिसकेको र अझै ४ लाखभन्दा बढी फलले आम्दानी दिने उहाँले बताउनुभयो । विश्व चर्चित मनास्लु पदमार्गको छेवैमा लगाइएको ड्रागन फ्रुट यति बेला जताततै फुलेको देख्न सकिन्छ । उहाँले आफ्नो फार्ममा उत्पादन गरेको फल ५० प्रतिशत भने स्थानिय स्तरमा नै बिक्री हुने गरेको र बाँकी भने मागको आधारमा नजिकै रहेको आरुघाट बजार, गोरखा सदरमुकाम र राजधानी पठाएको पठाउने गरेको जानकारी दिनुभयो । ‘फार्म भित्र उत्पादन भएको ड्रागन फ्रुट आधा यही बिक्री हुन्छ’ गुरुङले भन्नुभयो ‘बाँकी भने मागको आधारमा आरुघाट, गोरखा बजार र राजधानी पठाउने गरेको छु ।
’ फार्ममा १ हजार ४ सय बोट ड्रागन फ्रुट लगाइएको उहाँले बताउनुभयो । जसमध्ये ७ बोट मात्र सेतो र बाँकी सबै रातो प्रजातिको ड्रागन फ्रुट लगाइएको गुरुङको भनाई छ । उत्पादित फल प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री गर्दै आएका गुरुङले थोक मुल्यमा भने प्रति केजी ५०० मा दिने गरेको बताउनुभयो । ‘एकदुई किलो लैजाने ग्राहकहरुलाई प्रतिकिलो ६ सय रुपैया लिने गरेको छु’ उहाँले भन्नुभयोे ‘होलसेल मुल्यमा लैजानेलाई भने ५ सय रुपैयाका दरले बिक्रि गरिदै आएको छ ।’
समुन्द्री सतहबाट ८ सय ५० उचाईमा रहेको जमिनमा ड्रागन खेती गरिएको उहाँले बताउनुभयो । सामान्यतया ड्रागन फुड १ हजार २ सय मिटरसम्म पनि खेती गर्ने गरिएको गुरुङको भनाई छ । उहाँले ड्रागन खेतीबाट राम्रो आम्दानी गर्दै आएको भन्दै युवा पुस्ताहरुलाई विदेशिनु भन्दा व्यवसायिक रुपमा यहीँ खेती तर्फ लाग्न समेत सुझाव दिनुभयो । सुरुवाती चरणमा १३ लाख खर्चेर खेती सुरु गरेको बताउदै उहाँले अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रले ३÷३ लाख गरी कुल ६ लाख अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो । पछिल्लो पटक भने गाउँपालिकाले उक्त खेती भित्र मौरी परीक्षणका लागि पाल्न अनुदानमा उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । ड्रागन फार्मको उपाध्यक्ष गुरुङ नेतृत्वको गाउाँपालिकाको टोलीले अनुगमन समेत गरेको थियो ।