Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कुवेतमा कम्पनीको काम भनी घरेलु काममा साउदी पुर्‍याइएका चार महिलाको उद्धार गरी दूतावासले पठायो नेपाल


1K
Shares

कुवेतमा कम्पनीको काम भनी घरेलु काममा साउदी पुर्‍याइएका चार महिलाको उद्धार गरी दूतावासले पठायो नेपाल

काठमाण्डौ, २५ साउन । कुवेतमा कम्पनीको कामको प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पुर्‍याइएका चार नेपाली महिलाको उद्धार गरी त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ ।

साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुर्व्यवहार भोगिरहेका उनीहरूलाई उद्धार गरी तीन महिना सेल्टरमा राखेर बुधवार स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पुर्‍याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेण्टले उनीहरूलाई साउदी अरब पुर्‍याईएका थिए ।

साउदीमा उनीहरूलाई झण्डै सात वर्षसम्म घर मालिकले बिना तलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको दूतावासले जनाएको छ ।

दैनिक १८ घण्टासम्म आफूले काम गर्न परेको र तलब नपाएपछि घर फर्कन्छु भन्दा उल्टो कुटपिटका साथै अमानवीय र अभद्र व्यवहार भोग्न परेको उनीहरूले बताएका छन् । दूतावासका अनुसार लामो समयदेखि साहुको यातना सहेका उनीहरूको अवस्था गम्भीर थियो ।

तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित सेल्टरमा राखेको थियो । यसबीचमा दूतावासले साउदीको घरेलु कामदार कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीको लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो ।

नेपाल फर्कन मिल्ने बहिर्गमन भिसा लागेपछि हिमालय एयरलाइन्समार्फत दूतावासले बुधवार उनीहरूलाई नेपाल फर्काएको छ । उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको हो ।

सरकारले प्रतिबन्ध लगाएको काममा महिलाहरूलाई विभिन्न तरिका र माध्यमको प्रयोग गरी एजेण्टहरुले गैरकानुनी रूपमा खाडीका विभिन्न देशमा पुर्‍याउने गरेको छन् ।

कतिपयलाई कम्पनीकै काममा भनेर लैजाने र गन्तव्यमा पुगेपछि प्रतिबन्धित घरेलु काममा लगाउने गरेको समेत पाइएको छ ।

पछिल्लो समय यसरी लैजाने क्रम बढेको भन्दै गैरकानुनी रूपमा एजेण्टको भर परी नआउन दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology