गोरखा, २५ साउन । गोरखा जिल्ला भित्र आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । सदरमुकाम स्थित गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखामा साउन १५ गतेपछि उपचारका लागि आएका मध्ये ६ सय ३९ जनामा आँखा पाक्ने रोगको संक्रमण भएको पाइएको केन्द्रका प्रमुख खुमप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
‘अस्पतालमा साउन १५ गतेबाट यता अहिलेसम्म ८ सय ५९ जनाले आँखाको चेकजाँच गराएकोमा ६ सय ३९ जनामा आँखा पाक्ने समस्या देखिएको छ, उहाँले भन्नुभयो, ‘अधिकांस व्यक्ति आँखा पाक्ने समस्या लिएर अस्पताल आउन थालेका छन् । प्रमुख पराजुलीले गएको करिब दश दिनदेखि जिल्लामा संक्रमितको संख्या बढ्न थालेको पाइएको उहाँले बताउनुभयो ।
‘अस्पतालमा आँखाको चेकजाँच गर्न आउने बिरामीहरु मध्ये सयजना बिरामीहरुमा ९० जना आँखा पाक्ने समस्या देखिन थालेको छ, प्रमुख पराजुलीले भन्नुभयो, ‘आँखा पाक्ने समस्या १८ बर्ष मुनिका बालबालिकाहरुमा बढी भएको पाइएको छ ।’ पछिल्लो समय संक्रमण देखिएका मध्ये ४ सय ३ जना बालबालिका र २ सय ३६ जना १८ बर्ष माथि उमेर समुहका व्यक्तिमा संक्रमण देखिएको उहाँले बताउनुभयो ।
गोरखा नगरपालिका भित्र धेरै विद्यालयहरुमा आँखा पाक्ने रोगको संक्रमण देखिएको नगरपालिका शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । अहिलेसम्म नगरपालिका भित्र १० वटा विद्यालयका बालबालिकाहरुमा संक्रमण फैलिएको उहाँले बताउनुभयो ।
‘बिशेष गरी गोरखा सदरमुकाम आसपासका विद्याथीहरुमा आँखा पाक्ने रोग बढी देखिएको छ, प्रमुख खड्काले भन्नुभयो, ‘संक्रमण देखिएका विद्यालयका शिक्षक, विद्यार्थीमा नभएर अभिभावकहरुमा पनि आँखा संक्रमण देखिएको छ ।’ संक्रमण थप फैलिदै गए व्यवस्थापन समिति, शिक्षक र अभिभावकको राय सल्लाह अनुसार बिद्यालय बन्द गर्न सकिने खड्काको भनाई छ ।
चिकित्सकिय भाषामा आँखा पाक्ने रोगलाई एडिनो कन्जन्टिभाईटिस पनि भनिन्छ । कन्जन्टिभाइटिस रोगले आँखाको झिल्ली जस्तो तहमा असर गर्ने र रोगको मुख्य लक्ष्यण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदी हुने केन्द्रका प्रमुख पराजुलीले बताउनुभयो ।
एडिनो कन्जन्टिभाईटिस रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्न सक्ने र संक्रमण फैलिएर आँखाको बाहिरी भाग हुदैँ भित्र नानीसम्म पुग्नेसक्ने भएकाले समयमा उपचार गर्नुपर्ने उहाँको भनाई छ । चिकित्सक अनुसार समयमै उपचार गरेर यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एकदेखि दुई हप्तामा आफै कम हुदै जाने उहाँको भनाई छ ।