Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बरामद गरेको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टी


1.9K
Shares

गोरखामा बरामद गरेको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टी

गोरखा, २५ साउन । गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । विभागबाट गोरखा आएको भूगर्भविद्हरुको टोलीले दुईदिन लगायर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टी गरेको हो ।

ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रसासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा.सुस्मिता भण्डारीले जानकारी दिनुभयो । ‘परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमुल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उहाँले भन्नुभयो, ‘संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा ७ औं नम्बरमा पर्छ ।’

भूगर्भविद्को टोलीले टल्कने ढुङ्गाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा.भण्डारीले जानकारी दिनुभयो । कडापनका आधारमा हिरा १० औं नम्वरमा पर्ने उहाँको भनाई छ । टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको पाइएको छ । यत्ति ठूलो तौलको भएको एउटै चट्टानका भेटाउन समेत गाह्रो पर्ने भूगर्भविद् डा.भण्डारीले बताउनुभयो ।

‘क्वार्ज क्रिष्टल’ मुख्य रुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद् डा.भण्डारीको भनाई छ । त्यस्तै रेडियो ट्रान्समिटर, कम्प्युटर, घडी लगायतका अन्य विद्युतिय उपकरणहरुमा पनि क्वार्ज क्रिष्टलको आंशिक रुपमा प्रयोग हुने उहाँले जानकारी दिनुभयो ।

टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो । जिल्ला प्रसासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमुना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा. भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो ।

अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदन मार्फत सुझाव दिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्यगर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्र माफृत आग्रह गरिएको छ ।

गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपल स्थित स्थानीयबासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । टल्कने ढुङ्गा बर्षौदेखि शाही परिवारले घरमा राखेर पुजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिषर्मा राख्न गोरखाका विभिन्न संघसंस्थाहरुले प्रसासनसंग माग गर्दै आएका छन् ।

टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरवार परिसरमा प्रणप्रतिष्ठा गरी ब्यबस्थापन गनुपर्नेमा संघसंस्थाहरुको जोड छ । पुजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि वहानामा गोरखा जिल्ला बाहिर नपठाई मुलधनीको ईच्छा अनुसार गोरखकाली र गोरखनाथको पबित्र भूमिमा राख्नुपर्ने स्थानीयबासीहरुको पनि भनाई रहेको छ ।

गोरखा नगरपालिका गोरखाका नगरप्रमुख कृष्णबहादुर रानामगरले विभागको टोलीसँगको भेटमा ऐतिहासिक र धार्मिक हिसावले उक्त पत्थरलाई गोरखामै राख्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले टल्कने ढुङगा गोरखामा राख्नका लागि नगरपालिकाले नेपाल सरकार लगायतका अन्य सम्वन्धित निकायहरुसंग आवश्यक समन्वय गर्ने समेत बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology