गोरखा, २४ साउन । गोरखा नगरपालिका–७, सतिपिपल स्थित एक घरबाट बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षा सहित राखिएको ढुल्कने ढुङगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ ।
स्थानीयबासी सहित बिभिन्न संघसंस्थाहरुले बरामद् गरिएको टल्कने ढुङगा बाहिर जिल्लामा नपठाउन पटक–पटक अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा आइपुग्नु भएको गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिनुभयो ।
‘ढुंगा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रसासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो ’ उहाँले भन्नुभयो, ‘विभागले परीक्षण गर्न समस्या हुने भएकाले विभागमै ल्याउन भनेपनि लैजान समस्या भएपछि पुनः पत्राचार गरी विज्ञहरुको टोली जिल्लामै झिकाइएको हो ।’
विभागले आवश्यक उपकरण सहितको विज्ञहरुको टोली पठाएको उहाँले बताउनुभयो । बराम्द गरिएको टल्कने ढुङ्गा ५४ किलोग्रामको रहेको छ । एकातिरबाट लाईट बाल्दा भित्रैबाट अर्को तिर उज्यालो वारपार हुने उक्त ढुङ्गा पुर्खौली रुपमा घरमा राखिएको अबस्थामा भेटिएको थियो ।
प्रहरीले बरामद् गरेलगत्तै पनि भूगर्भविद्लाई भिडियो कल गरेर देखाउदा बिज्ञहरुले उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ ढुंगा भएको बताएका थिए । ‘क्वार्ज क्रिष्टल’ ढुङ्गा भएपनि कुन गुणस्तरको भन्ने कुराको एकिन परीक्षण गर्न बिज्ञ सहितको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
टल्कने ढुङ्गा बर्षौदेखि घरमा पुजा गर्दै आएको पाइएपछि उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिषर्मा राख्न गोरखाका विभिन्न संघसंस्थाहरुले प्रसासनसंग माग गरेका गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै उक्त शिला गोरखा दरवार परिसरमा प्रणप्रतिष्ठा गरी ब्यबस्थापन गनुपर्नेमा संघसंस्थाहरुको जोड छ ।
पुजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शिला कुनै पनि वहानामा गोरखा जिल्ला बाहिर नपठाई मुलधनीको ईच्छा अनुसार गोरखकाली र गोरखनाथको पबित्र भूमिमा राख्नुपर्ने स्थानीयबासीहरुको पनि भनाई रहेको छ ।