गोरखा, १५ साउन । जिल्ला अदालत गोरखाले गत आर्थिक बर्षमा लक्ष्यभन्दा बढि मुद्दाको फैसला गरेको छ । अदालतले आज कार्यालयमा आयोजना गरेको पत्रकारहरुसंगको छलफल तथा अन्तरक्रिया कार्यक्रम गत आर्थिक बर्षमा ५ सय ४० मुद्दा फच्यौट गर्ने लक्ष्य लिएकोमा ६ सय ९३ मुद्दा फच्र्यौट गरेको जिल्ला न्यायधिस तेजेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा लगतको आधारमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका मुद्दा मध्ये ७२ दशमलव ५ प्रतिसत मुद्दा फच्र्यौट भएको उहाँले बताउनुभयो ।
‘लक्ष्यका आधारमा भने १२८ दशमलव ३ प्रतिसत मुद्दा गत आर्थिक बर्षमा फच्र्यौट भएको छ, ‘न्यायधिस शर्माले भन्नुभयो, ‘अदालतको मुद्दा फच्र्यौटको अबस्थालाई हेर्दा यो अत्यन्तै सकारात्मक हो ।’ अदालतमा गत आर्थिक बर्षमा कुल ७ सय २ वटा मुद्दा दर्ता भएको थियो भने २ सय ५३ वटा मुद्दा अघिल्लो आर्थिक बर्ष ०७८÷०७९ बाट सरेर आएको थियो । जिम्मेवारी सरेर आएका २ सय ५० मुद्दा फैसला र गत आर्थिक बर्षमा दर्ता भएका ४ सय ४३ वटा फैसला भएको उहाँले बताउनुभयो ।
‘दुई बर्षसम्मका मुद्दा २०८० सम्ममा शुन्यमा झार्ने लक्ष्य अदालतले राखेको थियो, न्यायधिस शर्माले भन्नुभयो, ‘लक्ष्य पुरा भएको छ, अदालतमा १८ महिना र १५ महिनासम्म मुद्दा पनि सवै फच्र्यौट भईसकेको छ, अब एक बर्ष कटेका मुद्दा ३ थान मात्र बाँकी छ ।’ जिल्ला अदालतले गत आर्थिक बर्षमा ५ सय ७८ मुद्दा दर्ता हुने अनुमान गरेपछि अनुमान गरेभन्दा एक सय २४ थान मुद्दा बढी परेको न्यायधिस शर्माले जानकारी दिनुभयो ।
गत आर्थिक बर्षमा जिम्मेवारीमा रहेका मुद्दा मध्ये २ सय ६२ थान मुद्दा चालु आर्थिक बर्षमा सरेर आएको उहाँले बताउनुभयो । जिल्ला अदालतमा गता आर्थिक बर्षमा देवानी प्रकृतिका ५ सय २५ थान, फौजदारी प्रकृतिका मुद्दा १ सय २१ थान मुद्दा परेका थिए भने त्यस बाहेकका मुद्दा अन्य प्रकृतिको रहेको न्यायधिस शर्माको भनाई छ ।