गोरखा, १३ साउन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ४१ जना लाभाव्दित भएका छन् । गाउँपालिकाको वडा नम्बर १ स्थित बारपाक स्वास्थ्य चौकीमा भएको स्वस्थ्य शिविरबाट बिरामीहरुले रगत परीक्षण, इसिजी सेवा लगायतका उपचार सेवा लिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गोरखा अस्पताल र ग्रिनसिटी हस्पिटलको प्राविधिक सहयोग तथा मुटु फाउन्डेशन, मनोज एसोशियसन, नमस्ते फ्रान्स ग्रेनोबल युनिभर्सिटीको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन उपभोक्ता समितिको सह–आयोजना भएको शिविरको पहिलो दिनमा २ सय १ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ४ सय ४० भन्दा बढिले सेवा लिएको स्वास्थ्य शिविरका संयोजक धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
जसमध्ये १ सय २४ जनाले ल्याब सेवा, एकसय ७० जनाले सुगर परिक्षण, ८१ जनाको इसिजी परिक्षण र १८० जनाले भिडियो एक्सरे सेवा लिएका थिए भने उपचारका लागि आएकाहरुले अन्य बिभिन्न उपचार सेवा लिएको उहाँले बताउनुभयो ।
शिविरमा गोरखा अस्पतालका स्त्री रोग विशेषज्ञ दीक्षा पौड्याल, डा.अनुरुद्र थपलिया, ग्रिनसिटी अस्पतालका डा. निदान रावल, डा.रोसन भक्ती लगायतको चिकित्सकको टोली उपचार सेवा प्रदान गरेको थिए ।