गोरखा, ९ साउन : गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औं जन्मजयन्तीको अवसरमा आज पालिका भित्र सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको यहीँ असार १४ गते बसेको बैठकले भीमसेन थापाको जन्मजयन्तीको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिनुभयो ।
‘गाउँकार्यपालिका बैठक बसेर अघिल्ला बर्षमा जस्तै यसबर्ष पनि थापाको जन्मजयन्तीमा विदा दिने निर्णय भएको थियो, अध्यक्ष बन्जराले भन्नुभयो, ‘गाउँपालिकाको नामकरण नै राष्ट्रिय विभूति भीमसेन थापाको नाममा राखिएको गाउँपालिका भएकाले पनि उहाँको उच्च सम्मानमा सार्वजनिक विदा दिइएको हो ।’
सार्वजनिक विदाको दिन पालिका अन्र्तगतका सवै कार्यालय, विद्यालय, स्वास्थ संस्थाहरुसंग बन्द रहने उहाँले जानकारी दिनुभयो । त्यस्तै वडा कार्यालयबाट नियमित प्रदान गरिदै आएको सेवा प्रवाहपनि बन्द रहने अध्यक्ष बन्जराले बताउनुभयो ।
नेपालमा प्रथम मुख्तियार भीमसेन थापाको पुख्र्यौली घर भीमसेन थापा गाउँपालिका–८, बोर्लाङ स्थित चण्डीथानमा जन्मजयन्तीको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । थापाको पुख्र्यौली घर हेवली दरवार पूर्णरुपमा भग्नावशेष अवस्थामा रहेको छ । गएको बर्ष हेवली दरवार परिषर्मा थापाको शालिक निर्माण गरिएको छ ।