गोरखा, ६ साउन । गोरखा जिल्ला भित्रका एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकामा सवैभन्दा धेरै अपराधिक घटना भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्ला भित्र पछिल्लो एक बर्षमा भएका २ सय ७९ अपराधिक घटनामध्ये गोरखा नगरपालिका भित्र मात्रै १ सय ४ वटा घटना भएको पाइएको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा सवैभन्दा कम धार्चे गाउँपालिकामा अपराधका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । धार्चेमा पछिल्लो एक बर्षमा दुईवटा मात्र अपराधका घटना भएको पाइएको उहाँले बताउनुभयो ।
तथ्याङक अनुसार जिल्ला भित्र कुल घटेका कुल घटनाहरु मध्ये ३७ दशमलव २७ प्रतिसत घटना गोरखा नगरपालिका भित्र भएको पाइएको छ । गोरखा नगरपालिका पछि पालुङटार नगरपालिकामा दोस्रो धेरै अपराधिक घटना हुने गरेको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।
पालुङटार नगरपालिकामा पछिल्लो एकबर्षमा ५४ वटा अपराधिक घटना भएको पाइएको उहाँले बताउनुभयो । त्यस्तै नौ वटा गाउँपालिकाहरु मध्ये सवैभन्दा धेरै अपराधिक घटना सिरानचोक गाउँपालिकामा भएको पाइएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।
सिरानचोक गाउँपालिकामा पछिल्लो ६ महिनामा ३० अपराधका घटना भएका छन् । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा २४ अपराधका घटना भएको पाइएको छ भने अजिरकोट गाउँपालिका भित्र एक बर्षमा १८ वटा अपराधका घटना भएका छन् ।
प्रहरी कार्यालय सार्वजनिक गरेको तथ्याङ्क अनुसार सहिद लखन गाउँपालिका २०, भीमसेन थापा गाउँपालिकामा १८, गण्डकी गाउँपालिकामा १७, आरुघाट गाउँपालिकामा १६ वटा अपराधिक घटना भएको पाइएको छ । चुमनुव्री गाउँपालिकामा ९ वटा अपराधका घटना गएको एक बर्षको अवधीमा घटेको पाइएको प्रहरीले जनाएको छ ।