गोरखा, ३१ असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई बिभिन्न संस्थाहरु मिलेर स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एशोसिएसन फ्रान्स र हम्ड ब्रेस्ट फ्रान्स नामक संस्थाले संयुक्त रुपमा शनिबार गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङले जानकारी दिनुभयो ।
संस्थाहरुले संयुक्त रुपमा गाउँपालिकालाई गर्भवती महिलाहरुको गर्भ परीक्षण गर्ने भिडियो एक्सरे मेसिन तथा ७२ थान स्टेचर उपलब्ध गराएको उहाँले बताउनुभयो ।
‘गर्भमा रहेको शिशुको अबस्था चेकजाँच गर्न मिल्ने एक थान भिडियो एक्सरे मेसिन गाउँपालिकालाई ति संस्थाहरुले उपलब्ध गराएका छन्, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘त्यस वाहेक ७२ थान स्टेचर पनि गाउँपालिकालाई सहयोग प्राप्त भएको छ ।’
गाउँपालिका भित्र रहेका गर्भवती महिलाहरुको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जाँच गर्न सहयोग पु¥याउने उद्देस्यले बिभिन्न संस्थाहरु मिलेर गाउँपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
संस्थाहरुको तर्फबाट संयुक्त रुपमा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त स्वास्थ्य सामाग्रीहरु गाउँपालिकालाई हस्तान्तरण गरेको हो । संस्थाले उपलब्ध गराएको स्टेचर आवश्यक पर्ने स्वास्थ्य संस्थाहरुलाई आवश्यकताका आधार वितरण गरिने गाउँपालिकाले जनाएको छ ।