गोरखा,२६ असार । गोरखाको धार्चे गाउँपालिकाले गोठालाहरुलाई त्रिपाल वितरण गरेको छ । वडा नम्बर – २ र ५ का गोठमा बस्ने गोठालालाई लक्षित गरी ३ सय ५२ जना गोठालाहरुलाई त्रिपाल बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।
वडा नम्बर ५ का सिङ्ला, लप्सीबोट र माछिखोलाका एक सय ६२ जना र वडा नं २ का रुन्चेत, केरौजा र केरौजाबेशीका एक सय ८८ जनालाई त्रिपाल बितरण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत त्रिपाल र सोलार खरिद गरेर वितरण गरिएको हो । कार्यक्रमका लागी पालिकाले दश लाख रकम विनियोजन गरेको थियो ।
वडा नम्वर ५ का केही गोठालाहरुलाई सोलार समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष गुरुङ, सम्बन्धित वडाका अध्यक्ष लगायतको उपस्थितिमा त्रिपाल र सोलार वितरण गरिएको हो ।