Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने


959
Shares

गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने

गोरखा, २४ असार । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ । वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

“डढेलोबाट वनजङ्गलको विनासमात्र हुने नभई यसबाट पर्ने वातावरणीय असरले जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई नै डढेलोमुक्त गाउँपालिका घोषणा गरिएको हो ।”

“पालिकाभित्रका धेरैजसो जङ्गलमा सिकारीले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले नीति बनाउन लागेको अध्यक्ष लामाले जानकारी दिनुभयो । “सिर्दीबास क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ”, उहाँले भन्नुभयो, “सिकारीले सिकारका लागि समेत डढेलो लगाउने गरेका पाइएकाले पालिकालाई नै डढेलोमुक्त क्षेत्र घोषणा गरी कडाइका गर्न लागिएको हो ।”

गाउँपालिकालाई डढेलोमुक्त बनाउन सके मात्र प्रदूषणमुक्त गाउँपालिका निर्माण गर्न सकिने भएकाले डढेलो रोकथाम र नियन्त्रणलाई गाउँपालिकाले प्राथामिकता दिएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाउने घोषणा कार्यान्वयनका लागि गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापसँग पनि समन्वय गरेर काम गर्ने अध्यक्ष लामाको भनाइ छ ।

यसका लागि गाउँ–गाउँमा जनचेतना फैलाउने योजना गाउँपालिकाले बनाएको उहाँले बताउनुभयो । “डढेलोका कारण पुग्ने क्षति, वातावरणमा पुग्ने असर, वन्यजन्तुको विनासलगायतका जनचेतना गाउँ–गाउँमा फैलाउनु आवश्यक छ”, अध्यक्ष लामाले भन्नुभयो, “भौगोलिक विकटता भएको गाउँपालिका भएकाले एमक्यापसँग समन्वय र सहकार्य गरी ड्रोनमार्फत पनि सचेतना फैलाउने र टोल–टोलमा सचेतना प्रदान गर्ने योजना छ ।”

प्रदूषणमुक्त गाउँपालिका निर्माणका लागि पालिकाभित्रका खाली जमिनमा वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका करिब एक सय तीन वर्षअघिदेखि शान्ति र अहिंसाको क्षेत्रका रूपमा पनि परिचित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology