गोरखा २१, असार । गोरखाको अजिरकोट गाउँपालिकाले पालिका भित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउदै लैजाने उद्देस्यका साथ किसानहरुलाई अनुदानमा हाते ट्रयाक्टर बितरण गरेको छ । गाउँपालिकाले पालिका भित्रका सवै वडामा पुग्ने गरी ४० जना किसानहरुलाई ५० प्रतिसत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।
कृषियोग्य जमिन बाँझो नराख्न किसानहरुलाई हौसला प्रदान गर्दै कृषि पेशालाई व्यवसायीकरण र यान्त्रिकीकरण बनाउदै लैजाने योजनाका साथ गाउँपालिकाले कृषि पेशालाई नै आत्मानिर्भर बनाउदै आएका कृषकहरु छनोट गरेर अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको उहाँले बताउनुभयो ।
‘गाँउमा धेरै खेती योग्य जमिन बिस्तारै बाँझो हुदैँ जान थाल्यो, उहाँले भन्नुभयो, खेती गर्नका लागि गाउँमा गोरु पाइनै छाडेपछि किसानहरुले करेसाबारी समेत बाँझै राख्न थाले, उहाँहरुलाई हौसला प्रदान गर्न अनुदानमा हाते ट्रयाक्टर बितरण गरिएको हो ।’ गाउँपालिकाले किसानहरुको निवेदनका आधारमा आवश्यकता पहिचान गरेर अनुदानमा ट्याक्टर वितरण गरेको उहाँले बताउनुभयो ।
‘अनुदानमा उपलब्ध गराइएको ट्रयाक्टरले प्रतिघण्टा १ रोपनीसम्म जमिन जोत्न सक्ने क्षमता रहेको प्राविधिकहरुको भनाई छ्, अध्यक्ष देवकोटाले भन्नुभयो, ‘परम्परागत खेती प्रणालीबाट मात्र हामीले कृषि उत्पादन बृद्धि गर्न सक्दैनौ, अब लागत कम गरे उत्पादन बृद्धि गर्नुपर्छ भन्ने गाउँपालिकाको जोड छ त्यसका लागि कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्नु अनिवार्य छ । ’
प्रविधिको प्रयोगले कृषि कर्मलाई छिटो, छरितो बनाउनुका लागत पनि कम पर्न जाने हुँदा यसबाट कृषकहरुले बढी भन्दाबढी लाभ लिनसक्ने उहाँको भनाई छ । ‘पछिल्लो समय मानिसहरुले जोत्नका लागि गोरु पाल्न छोडेका छन्, यसले गर्दा पनि जग्गाहरु बाँझो बस्न थाल्यो, अध्यक्ष देवकोटाले भन्नुभयो, ‘बाँझो जमिनमा खेती गर्न कृषकहरुलाई हौसला प्रदान गर्न ट्याक्टर बितरण गरिएको हो ।’
गाउँपलिकाले पालिका भित्रका सवै वडालाई समेट्ने गरी कृषकहरु छनोट गरेर अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले अनुदानमा खेतीपाती गर्नका लागि हाते ट्रयाक्टर वितरण गरेपछि किसानहरु पनि उत्साहित भएका छन् ।