काठमाडौं, २१ असार । माध्यामिक शिक्षा परीक्षा एसईई नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०ले बिहीबार एसईई नतिजा सार्वजनिक गरेको हो । बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो । त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो ।
संशोधनअनुसार यसपटक साविककै प्रावधानअनुसार नतिजा सार्वजनिक गरिएको हो । न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईईदेखि मात्र कार्यान्वयनमा आउने छ ।