गोरखा, २० असार : मकाउ पठाईदिन्छु भनी रकम ठगी गर्ने गोरखाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नम्बर ८ ध्याल्चोक घर भएका ५१ बर्षका दुर्गाबहादुर रेग्मलाई बैदेशिक रोजगारीमा मकाउ पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका– १४ टैब बस्दै आएका जित बहादुर थापा मगरलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाईदिन्छ भन्दै रेग्मीले ६ लाख ६० हजार रुपैया पटक पटक गरेर लिएको पाइएको प्रहरीले जनाएको छ । मकाउ पुगेपछि प्रतिष्ठित होटलमा क्लिनरको काम लगाइदिने र मासिक एक लाख २० हजार तलव हुने प्रलोभनमा पारेका थिए ।
रेग्मी रकम लिएपछि सम्पर्क बिहिन भएपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रेग्मीलाई थप अनुसन्धानका लागि थप वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।