Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पाठेघरमा हुने क्यान्सर रोगको पहिचान गर्न निःशुल्क उपचार शिविर


1.9K
Shares

पाठेघरमा हुने क्यान्सर रोगको पहिचान गर्न निःशुल्क उपचार शिविर

गोरखा, १२ असार । महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्युनीकरणका लागि भिमसेन थापा गाउँपालिकाले निःशुल्क स्त्री रोग तथा प्रजनन् स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरेको छ । शिविरमा ५० जना महिलाहरुले स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ४ स्थित धावा चौतारा र वडा नम्बर ७ स्थित क्यामुन्टारमा निःशुल्क उपचार शिविरमा सञ्चालन गरिएको शाखा प्रमुख खनालले बताउनुभयो ।

‘क्यामुन्टारमा सञ्चालन गरिएको शिविरमा उपचार सेवा लिएका ४२ जनामा ४१ जनाले भिआइए (पाठेघरको मुखको क्यान्सरको स्किनिङ) गराएका थिए, उहाँले भन्नुभयो, ‘परीक्षण गराएका मध्ये २ जनामा भिआइए रिर्पोट पोजटिभ आएको छ ।’

चौतारामा भिआइए परीक्षण गराएका ९ जनामा भने सवैको रिर्पोट नेगेटिभ आएको शाखा प्रमुख खनालले जानकारी दिनुभयो । ‘भिआईए परीक्षणले केही बर्षपछि क्यान्सर हुदैछ भने पनि त्यसको पहिचान गर्छ, उहाँले भन्नुभयो, ‘हामी औषधी राखेर हेर्छौ त्यसवाट रोगको पहिचान गरेर पोजेटिभ नेगेटिभ पत्ता लाग्छ ।’

भिआईए पोजेटिभ आएका दुवै जनाको थर्मोकेगुलेसन बिधिबाट उपचार गरिने शाखा प्रमुख खनालको भनाई छ । ‘थर्मोकोगुलेसन बिधिबाट उपचार गरेपछि अहिले पोजेटिभ देखिएका बिरामीहरुको पाठेघरको क्यान्सर रोगको निदान हुन्छ, उहाँले भन्नुभयो, ‘रिपोर्ट पोजेटिभ आएका दुवै जनालाई गोरखा अस्पतालमा उपचारका लागि पठाउछौ ।’

उपचार शिविरबाट महिलाहरुमा हुने गरेको पाठेघरको मुखको क्यान्सरबाट जोगिन मद्दत पुग्ने शाखा प्रमुख खनालले जानकारी दिनुभयो । शिविरमा भिआइए परीक्षणसंगै महिलाहरुको पाठेघरको खस्ने समस्याको पनि परीक्षण गरिएको उहाँले बताउनुभयो ।

शिविरमा उपचारका क्रममा पाठेघर खस्ने समस्या देखिएका महिलाहरुको पाठेघरमा रिङ प्रेसरी राखेर उपचार गर्ने गरिएको शाखा प्रमुख खनालले जानकारी दिनुभयो । पाठेघरको अप्रेसन गर्नुपर्ने बिरामीहरुका लागि समेत गाउँपालिकाले आवश्यक सहजीकरण गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology