Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी प्रदेशलाई आत्मानिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे


1.5K
Shares

गण्डकी प्रदेशलाई आत्मानिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा ११ असार ।  गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई जलस्रोत, कृषि, पर्यटन लगायतका क्षेत्र मार्फत आत्मानिर्भर प्रदेशको रुपमा स्थापित गराउने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले गण्डकी प्रदेश भित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढंगले प्रदेशलाई आत्मानिर्भर बनाउन प्रदेश सरकार लागि परेको बताउनुभयो ।

‘हाम्रो प्रदेशले उर्जा क्षेत्रको बिकास मार्फत आर्थिक सम्बृद्धि हासिलका लागि पनि राम्रो सम्भावना बोकेको छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘बुढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र गण्डकी प्रदेशमा पर्छ, जसबाट बिद्युत उत्पादन गर्न सक्ने प्रसस्त सभ्भावनाहरु छन् ।’

उहाँले उर्जाको क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अबस्थामा राज्य एक्लै र नसक्ने अवस्थामा नीजि क्षेत्रसंग सहकार्य गरेरै भएपनि लामो समयसम्म राज्यलाई आम्दानी गर्नसक्ने गरी काम गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले नवलपुरको धौवाजीमा रहेको फलाम खानीमा लगानी गर्नुपर्छ भन्ने सोचमा प्रदेश सरकारको रहेको समेत जानकारी दिनुभयो ।

पर्यटन गण्डकी प्रदेश सरकारको प्रमुख आयस्रोत भएको भन्दै मुख्यमन्त्री पाण्डेले बढीभन्दा बढी पयर्टक भित्र्याएर प्रदेश सरकारको आयस्रोत बृद्धि गर्दै आत्मानिर्भर प्रदेश बनाउने योजना प्रदेश सरकारको रहेको बताउनु बताउनुभयो । उहाँले गाँजा खेती तथा घरेलु मदिरलाई ब्रान्डिङ गरेर पनि प्रसस्त आम्दानी गर्न सक्ने अबस्था भएको आवश्यक अध्ययन गरी त्यसलाई पनि अघि बढाउने बताउनुभयो ।

‘गाँजा भनेको लागू पर्दाथ मात्र होइन यो औषधीजन्य पर्दाथ पनि हो भन्ने कुरा केही अध्ययनहरुले पनि देखाएको छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘यसबाट कपडा उत्पादन गर्न सकिन्छ, यसलाई हामीले अध्ययन अनुसन्धान गर्नुप¥यो, यदी गाँजा औषधी जन्य पर्दाथ हो भने यसलाई नियमनकारी निकाय गठन गरेर लागू औषधमा प्रयोग हुन नसक्ने अबस्था सृजना गरेर कानुनी व्यवस्थ गरी यसको खेती बैध गराउनुपर्छ ।’

मुख्यमन्त्री पाण्डेले घरेलु मदिराको पनि गुणस्तर बढाएर व्यवसायिक ढंगबाट राज्यको दायरामा ल्याउन सके स्थानीय तथा प्रदेश सरकारलाई आर्थिक बृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । घरेलु मदिराको हकमा प्रदेश सरकार स्थानीय सरकारसंगै सहयोग र सहकार्य गरेर काम गर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।

अर्को फरक प्रसंगमा मुख्यमन्त्री पाण्डेले संघिय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको चाहाना अनुसार आएको व्यवस्था भएकाले कसैले नचाहादैमा गणतन्त्र नउल्टिने बताउनुभयो । जनताले रगत र पसिना बगाएर ल्याएको गणतन्त्र कुनै व्यक्तिले चाहिदैन भन्दैमा त्यसको अर्थ नहुने उहाँको भनाई छ ।

‘संघिय लोकतान्त्रिक गणतन्त्र लहडमा आएको होइन, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘अहिले जसले गणतन्त्र चाहिदैन भनिरहेका छन् उनीहरुलाई गणतन्त्र कसरी आयो भन्ने नै थाहा छैन ।’ उहाँले अहिलेको व्यवस्थालाई स्विकार गरेर संविधानलाई मानेर संसदमा पुगेका व्यक्तिहरुले गणतन्त्रको बिरुद्धमा बोल्नु नजायज भएको तर्क समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology