गोरखा, ८ असार ः गोरखामा आज बिहान दुलही बोकेर फर्कदै गरेको जिप दुघर्टना हुँदा पाँच जनाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङ स्थित पोखरीडाँडा तर्फ दुलही बोकेर फर्कदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप सहिद लखन गाउँपालिका वडा नम्बर ३ सिलिङमा बिहान तीनबजे तिर दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
मुत्यु हुनेमा एक जना महिला र ४ जना पुरुष रहेको उहाँले बताउनुभयो । मृतकको पहिचान खुल्न भने बाँकी रहेको छ । ‘जीप सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको छ, डिएसपी लामिछानेले भन्नुभयो, ‘जीप खसेको ठाउँ एकदमै खोच भएकाले उद्धार गर्न कठिनाई भइरहेको छ ।’ जन्ती बोकेर आएका ३ वटा जिप मध्ये दुलाहा दुलही बोकेको जिप दुर्घटनामा परेको उहाँले बताउनुभयो । दुर्घटनामा परेको जिपमा १९ जना चढेको भन्ने जानकारी आएको डिएसपी लामिछानेको भनाई छ ।
घटनास्थलमा नेपाल प्रहरी, ससस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीको टोली परिचालन गरी उद्धारको काम भइरहेको उहाँले बताउनुभयो । दुर्घटनामा परी १२ जना घाइते भएको डिएसपी लामिछानेले जानकारी दिनुभयो । घाइतेहरुको पनि पहिचान खुल्न बाँकी रहेको डिएसपी लामिछानेले बताउनुभयो । उद्धारका लागि डिएसपी लामिछाने नेतृत्वको प्रहरीको टोली केहीबेर अघि घटनास्थलमा पुगेर गरिरहेको छ । घटनाको बिस्तृत जानकारी प्राप्त हुन बाँकी नै छ ।…रासस