गोरखा, १ असार । गोरखाको सहिद लखन गाउँपालिकामा विद्यालय निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गदातालाई गाउँलेहरुले श्रमदान गरेर घर निर्माण गर्न सुरु गरेका छन् । गाउँपालिकाको वडा नम्बर ४ स्थित ताक्लुङमा रहेको सिंजाली माध्यामिक विद्यालयको भवन निर्माणका लागि अपुग जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई गाउँलेहरु श्रमदान मार्फत घर निर्माण गरिदिन सुरु गरेको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।
‘गोरखा भुकम्पले क्षति पु¥याएको सिंजाली माध्यामिक विद्यालयको भवन निर्माणका लागि १२ रोपनी क्षेत्रफल जमिन आवश्यक पर्नेभयो, उहाँले भन्नुभयो, ‘विद्यालयको नाममा करिव ८ रोपनी मात्र जग्गा रहेको र साँधका जग्गाधनीहरु आफु विस्थापित भएर पनि विद्यालयलाई निुःशल्क जग्गा दिन सहमत भएपछि घर नै हटाउनुपर्ने दाताहरुका लागि श्रमदान मार्फत घर निर्माण गर्न थालिएको हो ।’
विद्यालयसंग जोडिएका ६÷७ वटा जति घर विद्यालय भवन निर्माणका लागि हटाउन पर्ने अवस्था रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । ‘ घर हटाउनुपर्ने मध्ये ३ वटा जति घर श्रमदानबाट निर्माण गरिदिने योजना हाम्रो छ, उहाँले भन्नुभयो, ‘बाँकी विस्थापित हुनुपर्ने जग्गादाताहरुले घर मात्र भत्काउने व्यवस्था गरिदिए घर निर्माणको काम पनि आफै गर्छौ भन्नुभएको छ ,त्यसका लागि थप छलफल भइरहेको छ ।’
विद्यालयका अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीहरु मिलेर श्रमदान मार्फत एक जग्गा दाताका लागि दुई कोठे घर निर्माणको काम लगभग आधा सम्पन्न भइसकेको वडाध्यक्ष थापाको भनाई छ । ‘घर नै छोडेर बिस्थापित हुनुपर्ने दाताको श्रमदानबाट घर निर्माण काम तिव्र रुपमा अघि बढेको छ, उहाँले भन्नुभयो, ‘अहिले निर्माण थालिएको घरका लागि आबश्यक सवै निर्माण सामाग्रीहरु पनि हामीले नै व्यवस्था गरिदिएका छौ ।’
वडा नम्बर ४ र ५ का टोल–टोलका स्थानीबासी मिलेर पालैपालो जग्गादाताको घर निर्माणका लागि श्रमदानमा जुट्ने गरेको उहाँले बताउनुभयो । ‘हरेक टोलबाट फरक–फरक दिनमा स्थानीयवासीहरु, विद्यालयका अभिभावक तथा जनप्रतिनिधिहरु श्रमदानका लागि जुट्ने गर्दछन्, उहाँले भन्नुभयो, ‘यसले श्रमदानलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडी बढाउन पनि अझ धेरै सजिलो भएको छ ।’ घर निर्माणका लागि आवश्यक सामाग्री खरिदका लागि चन्दा संकलनको काम पनि भइरहेको उहाँले बताउनुभयो ।
प्रत्येक घरबाट महिला, पुरुष, युवा युवतीहरु जग्गा दाताको घर निर्माणका लागि श्रमदानमा जुटेको वडाध्यक्ष थापाको भनाई छ । श्रमदान मार्फत स्थानीयबासीहरु जुटेर विद्यालयको भवन निर्माणको काम अघि बढाएपछि गाउँपालिका अध्यक्ष रमेशकुमार थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर ६ का वडाध्यक्ष दिलिप नारायण थापा, वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायत समेत पुगेर एक दिन श्रमदान गर्नुभएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
भुकम्पले क्षति पु¥याएको उक्त विद्यालयमा भकुम्पपछि निर्माण गरिएको अस्थायी भवनमा विद्यालयले पठनपाठन सञ्चालन गर्दै आइरहेको छ । वडाध्यक्ष थापाले बताउनुभयो । चाइना सरकारले भवन निर्माणका लागि सहयोग गर्ने सहमति भइसकेको भएपनि विद्यालय भवन कहाँ बनाउने भन्ने टुङगो लाग्न नसक्दा भुकम्प गएको झण्डै ८ बर्ष बितिसक्दा पनि सिंजाली मा.विको भवन निर्माणको काम अघि बढ्न सकेको थिएन ।