Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नौ वर्षीय नाबालक बसे आमाको काजकिरियामा   


4K
Shares

नौ वर्षीय नाबालक बसे आमाको काजकिरियामा   

तनहुँ, ३२ जेठ :  आमाको मृत्यु पछिनौ वर्षीय छोरा किस्मत दरै आमाको काजकिरिया बसेका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारी निवासी आमा शर्मिलाको २६ वर्षको उमेरमा मृत्यु भएपछि नाबालक छोरा विधिवतरूपमा काजकिरियामा बसेका हुन् ।

सुत्केरी गराउने क्रममा आमा शर्मिलाको पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएपछि छोरा काजकिरियामा बसेका हुन् । मृतक दरैको बुधबार दमौलीस्थित छाब्दी दोभानघाटमा जातीय पराम्पराअनुरुप अन्त्येष्टि गरिएको हो ।

जेठ २८ गते दमौली अस्पतालमा उपचारका लागि लगे पनि सम्बन्धित चिकित्सक नभएको जानकारी पाएपछि देउरानीलाई पोखरा लगिएको मृतककी जेठानी निरु पौडेल दरैले जानकारी दिनुभयो । उपचारका क्रममा नवजात शिशुलाई बचाउन नसकेपछि आमालाई बचाउन चिकित्सकले भने अनुरुप पाठेघरसमेत फयाँक्दा पनि बचाउन नसकिएको उहाँले दुःखसो पोख्नुभयो ।

अस्पतालका चिकित्सकको लापरवाहीका कारण महिला र शिशु दुवैको मृत्यु भएको भन्दै मृतकका आफन्तले केही दिनसम्म शव बुझ्न मानेका थिएनन् । शव नबुझेपछि पीडित पक्ष र अस्पतालका चिकित्सकबीच द्विपक्षीय छलफल भएको थियो ।

छलफलका क्रममा मृतकका छोरा नौ वर्षीय किस्मतको जीवनभर स्वास्थ्योपचारमा छुट दिने सहमति भएको मृतककी हजुरबुवा चीजबहादुर दरैले जानकारी दिनुभयो । अस्पतालले मृतक महिलाको शव दमौली घाटसम्म निःशुल्करूपमा ल्याइदिन सहयोग गरेको उहाँले बताउनुभयो ।

“नसोचेको दुःखद् घट्ना हुन पुग्यो”, उहाँले भन्नुभयो, “न त आमा रह्यो न त शिशुलाई नै बचाउन सकियो, जस्तो परे पनि सहनुबाहेक अरु केही भएन ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology