गोरखा, ३२ जेठ । गोरखाको सहिद लखन गाउँपालिकाले जिल्लाका दुई क्याम्पसमा अध्ययनरत गाउँपालिका भित्रका २० जना बिपन्न तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । गाउँपालिकाले सदरमुकाम स्थित गोरखा क्याम्पस गोरखा र द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारमा अध्ययनरत बिपन्न छात्रछात्रालाई छात्रवृति प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
जिल्ला भित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने क्याम्पस हुँदाहुदै पनि जिल्ला बाहिर अध्ययनका लागि जाने परिपार्टीलाई न्युनीकरण गर्न छात्रवृतिको कार्यक्रम सुरु गरेको बताउनुभयो । ‘उस्तै खालको शिक्षा प्राप्तीका लागि जिल्लामै गुणस्तरीय कलेजहरु भएपनि एसइई दिने बित्तिकै काठमाण्डौ लगायतका अन्य शहरमा अध्ययनका लागि जाने प्रचलन रहेकाले बढ्दो छ, उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमले पालिका भित्रका बिधार्थीहरु जिल्लामा रहेर अध्ययन गर्न वातावरण निर्माण होस् भन्ने हाम्रो चाहाना हो ।’
त्यस्तै पालिका भित्रका विधार्थीहरुलाई थोरै मात्र भएपनि आर्थिक सहयोग प्रदान गर्दा अध्ययनका लागि राहात मिल्ने अपेक्षा गरी छात्रवृतिको कार्यक्रम सुरु गरेको अध्यक्ष थापामगरले बताउनुभयो । ‘पालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० को स्विकृत कार्यक्रम अन्र्तगत प्रतिव्यक्ति ५ हजार रुपैयाको दरले छात्रवृति रकम उपलब्ध गराएको छ, उहाँले भन्नुभयो,‘यसले विधार्थीहरुलाई अध्ययनका लागि थप हौसला प्रदान होस् भन्ने स्थानीय सरकारको चाहाना हो ।’
गाउँपालिकाले द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत १३ जना छात्रछात्रा र गोरखा क्याम्पसमा अध्ययनरत ७ जना पालिका भित्रका छात्रछात्रालाई क्याम्पसमै पुगेर छात्रवृति प्रदान गरेको उहाँले जानकारी दिनुभयो । आगामी आर्थिक बर्षमा सर्वशान्ति माध्यामिक बिधालय आँबुखैरनीमा अध्ययन गर्ने पालिका भित्रका विधार्थीहरुका लागि समेत छात्रवृतिको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।