गोरखा, २७ जेठ । अध्याधिक गर्मी बढेपछि गोरखा नगरपालिकाले नगरक्षेत्र भित्रका सवै बिधालयहरुमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयहरुमा पठनपाठन गर्न गराउन नै नसक्ने भएपछि नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सबै विधालयहरु केही दिनका लागि बन्द गरिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगरले जानकारी दिनुभयो ।
‘केही दिन यता गर्मी बढेसंगै बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको हो, उहाँले भन्नुभयो, ‘अहिले दिइएको विदालाई आउदो बर्खे विदाबाट कट्टी गर्ने गरी विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार कति दिन विदा गरिएको हो भन्ने निर्णय प्रतिलिपि सहित शिक्षा शाखामा जानकारी दिई विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।’
गर्मी कम नभए निर्णय गरेर बिदा थप लम्ब्याउन सकिने नगरप्रमुख राना मगरको भनाई छ । ‘विद्यालयका भवन समेत तातेर दिउँसोको समयमा बालबालिकाहरु कक्षा कोठा भित्र पनि बस्नै नसक्ने अबस्था छ, उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हुने देखेर केहीदिनका लागि पठनपाठन रोकिएको हो ।’
गोरखा क्षेत्रमा पछिल्लो समय ३९ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको नगरप्रमुख राना मगरले बताउनुभयो । ‘हिजो आज तापक्रम घट्नु भन्दा झनझन बढ्दै गएको छ, उहाँले भन्नुभयो, ‘ठूला मानिसहरुलाई दिनको समयमा घर बाहिर निस्किएर हिडडुल गर्न समेत कठिन भएको छ ।’