गोरखा, २६ जेठ । धार्चे गाउँपालिकालाई पुर्ण खोप पालिका घोषणा तथा दिगोपन सुनिश्चितता घोषणा गरिएको छ । गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा खोपको मापदण्ड पुरा गरेपछी बिहीबार पालिकाले पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको हो ।
चैत १२ देखी १४ गते सम्ममा सबै वडामा रहेका स्वास्थ्यकर्मीहरुले वडा भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाहरुले १५ महिना भित्रका नियमित खोप लिए नलिएको सर्वेक्षण गर्दा एक जना बच्चाले पूर्ण खोप नपाएको भेटिएको पालिकाको स्वास्थ्य संयोजक अमृत बहादसर घलेले जानकारी दिनुभयो ।
त्यपछि त्यो बच्चालाई पूर्ण खोपको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार घरधुरी सर्बेक्षण गर्दा १६ देखि ५९ महिनाका ५२२, १५ महिना मुनीका २८२ र १८१ जना बालबालिकालाई खोप लगाईएको पाएको बताउनुभयो । जेठ १८ देखी २३ गते सम्म सवै वडाहरुले आ–आफ्नो वडालाई पुर्ण खोप घोषणा गरेका थिए ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख याम प्रसाद शर्मा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार लगायतले मन्तव्य राखेको थियो ।
उक्त कार्यक्रममा ७ वटै वडाका स्वास्थ्य प्रमुख एबं स्वास्थ्य कर्मी, स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो । यसअघि शहिद लखन गाँउपालिकाले पनि पुर्ण खोप पालिका घोषणा गरिसकेको छ ।