गोरखा, १८ जेठ । गोरखामा पनि सामुदायिक बन उपभोक्ता महासंघ नेपालको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । महासंघको २८ औं स्थापना दिवसको अवसरमा बिहीबार गोरखा अस्पतालका वार्ड, प्रशुति र इमर्जेन्सीका करिब २० जना बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

जिल्ला महासंघका अध्यक्ष भुमिप्रसाद रेग्मीको नेतृत्वमा बिरामीहरुलाई फलफुल वितरण गरिएको केन्द्रीय सदस्य नरबहादुर गुरुङले जानकारी दिनुभयो ।
यसै क्रममा आज नै काठमाडौंमा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नरबहादुर गुरुङ, र पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट निर्वाचित सदस्यहरुलाई बधाई ज्ञपन गरिएको महासंघले जनाएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य गुरुङले सामुदायिक बन क्षेत्रको उपभोक्ताको पूर्ण अधिकार स्थापित गर्न क्रियाशिल रहने धारणा ब्यक्त गर्नुभयो । सरकारले सामुदायिक बन उपभोक्ता समुहलाई तेहेरो कर लगाएर आतङ्कित बनाएको भन्दै सबै पक्षसँग सहजिकरण गरेर उपभोक्तामारा ऐन कानुन परिवर्तनमा सक्रिय भूमिका खेल्ने उहाँले बताउनुभयो ।

जिल्ला महासंघ गोरखाको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गुरुङ, प्रदेश सदस्यद्वय चन्द्रकुमारी बराम र गोमा पोखरेल लगायतको उपस्थित रहेको थियो ।