गोरखा, ११ जेठ । गोरखा नगरपालिका भित्रका सवै नागरिकहरुलाई निःशुल्क आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्न सुरु गरिएको छ । नगरपालिकाले गोरखा अस्पतालसंग सम्झौता गरेर नगरपालिका भित्र स्थायी बसोबास भएका सवै नगरबासीहरुलाई बुधबारदेखि निःशुल्क आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्न सुरु गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
गोरखा अस्पताल र नगरपालिका बिच आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रवाह सम्झौता भएको थियो, उहाँले भन्नुभयो, सोही सम्झौता बमोजिम हिजोदेखि अस्पतालबाट नगरपालिका भित्रका नागरिकहरुलाई निःशुल्क उपचार सेवा सुरु भएको हो ।’ सम्झौता अनुसार नगरबासीहरुले खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा, गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन सेवा, नसर्ने रोग तथा सामान्य÷आकस्मिक अवस्थाको उपचार सेवा निःशुल्क प्राप्त गर्ने उहाँको भनाई छ ।
त्यस्तै स्वास्थ्य प्रवद्र्धन सेवा, आयूर्वेद तथा अन्य मान्यता प्राप्त वैकल्पिक स्वास्थ्य सेवा, सरुवा रोग नियन्त्रण कार्यक्रम सहित नगरपालिकाले आवश्यकता पहिचान गरि तोकेका सेवाहरु नगरवासीहरुले निशुल्क प्राप्त गर्नसक्ने नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । नागरिकहरुलाई निःशुल्क आधारभूत स्वास्थ सेवा प्राप्त गर्नका लागि नगरपालिकाले स्वास्थ्य सेवा कार्ड उपलब्ध गराउने नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।
‘निःशुल्क स्वास्थ्य सेवाका लागि स्वास्थ्य कार्ड वितरणको तयारी भइरहेको छ, उहाँले भन्नुभयो, ‘स्वास्थ्य कार्ड प्राप्त नहुँदासम्मका लागि नगरबासी भएको परिचय खुल्ने सरकारी कागजातबाट पनि नगरबासीले निःशुल्क उपचार सेवा लिनसक्ने गरि तत्कालका लागि व्यवस्था मिलाइएको छ ।’ नगरबासीहरुले अस्पतालबाट नेपाल सरकारले उपलब्ध गराएको ९८ प्रकारका औषधी सहित १८ प्रकारका ल्याव सेवा तथा अन्य १० प्रकारका थप सेवा निःशुल्क प्राप्त गर्ने नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।
नगरबासीहरुलाई ओ.पि.डी टिकट तथा अकस्मिक टिकट (स्वास्थ्य बीमा सेवा वाहेक) निःशुल्क सेवा उपलब्ध गराइएको छ, उहाँले भन्नुभयो, ‘त्यस बाहेक जनरल बेडमा भर्ना हुनेलाई बेड चार्ज र भर्ना शुल्कपनि निःशुल्क उपलब्ध प्रदान गर्न सुरु गरिएको छ ।’ निःशुल्क उपचार सेवाका लागि आगामी पौष महिना भित्रमा सवै नगरबासीहरुलाई स्वास्थ्य कार्ड उपलब्ध गराइसक्ने लक्ष्य नगरपालिकाले रहेको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।
मौलिक हकमा व्यवस्था गरिएको नागरिकहरुको निःशूल्क स्वास्थ्य उपचारको हकलाई ग्यारेन्टी गर्न गोरखा नगरपालिकाले थालनी गरेको उहाँले बताउनुभयो । ‘नेपालको संविधान अन्र्तगत मौलिक हकमा हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था हुने उल्लेख गरिएको छ, नगरप्रमुख रानामगरले भन्नुभयो, ‘नगरपालिकाले यहीँ व्यवस्था अनुसार नगरपालिका भित्रका सवै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्न सुरु गरेको हो ।’ रासस