Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

१४ करोड वर्षअगाडिको डाइनासोरको जीवाश्मा भेटिएपछि खुसी भए वैज्ञानिक


1.4K
Shares

१४ करोड वर्षअगाडिको डाइनासोरको जीवाश्मा भेटिएपछि खुसी भए वैज्ञानिक

काठमाडौं , ८ जेठ । पृथ्वी उत्पत्ति भएको साढे चार अर्ब वर्ष पुग्यो । सुरुवातमा यहाँ जीवनको अस्तित्व थिएन किनभने पृथ्वी भर्खरै उत्पत्ति हुँदा यहाँको वातवरण अत्यन्तै तातो थियो । समय क्रमसँगै पृथ्वी चिसो हुन थाल्यो र यहाँ जीवनको अस्तित्व देखा पर्न थाल्यो । यो धर्तीमा पहिले–पहिले माइक्रोस्कोपिक जीवहरू अर्थात् सुक्ष्म जीवहरू अस्तित्वमा आए ।

त्यसपछि २५ करोड वर्षदेखि ६ करोड ६० लाख वर्ष अगाडिसम्म ठूला जीवहरू जस्तै डाइनासोरहरू अस्तित्वमा आए । डाइनासोर पनि धेरै प्रकारका थिए । कोही ठूला कोही साना त कोही मांसाहारी त कोही साकाहारी ।

तर, ६ करोड ६० लाख वर्ष पहिले नै डाइनासोर पृथ्वीबाट लोप हुन पुग्यो । वैज्ञानिक अनुसन्धान र प्रमाणहरूका अनुसार क्षुद्रग्रहहरू पृथ्वीमा खस्दा, ज्वालामुखी विस्फोट हुँदा डाइनासोरहरू लोप भए । तर, अहिले पनि डाइनासोरको जीवाश्महरू भेटिने गरेका छन्, जसले करोडौँ वर्ष अगाडिको ती जीवहरूको यथार्थबारे प्रकाश पार्न मद्दत गरिरहेको छ ।

अर्जेन्टिनाका जीवाश्मविद्हरूले हालैमात्र शाकाहारी डाइनोसरको अवशेष फेला पारेका छन् । उनीहरूले अर्जेन्टिनाको दक्षिणी प्याटागोनिया क्षेत्रमा लामो घाँटी भएको डाइनोसरको विशाल प्रजातिको अवशेष फेला पारेका हुन् । यो डाइनोसर अहिलेसम्म भेटिएको सबैभन्दा ठूलोमध्येको एक भएको बताइएको छ । प्युब्लो ब्लान्को नेचर रिजर्भमा सन् २०१८ मा फेला पारिएको यस अवशेषलाई गत बिहीबार मात्र सार्वजनिक गरिएको हो ।

वैज्ञानिकहरूका अनुसार यो डाइनासोर चुकारोसोरस डिरिपियन्डा प्रजातिको सदस्य हो । १४ करोडदेखि ६ करोड वर्ष अगाडिसम्म यो डाइनासोर पृथ्वीमा अस्तित्वमा थियो । यसको तौल ५० टनसम्म पुग्थ्यो भने लम्बाइ ३० मिटर लामो थियो । रियो निग्रो प्रान्तमा भेटिएकामध्ये यो सबैभन्दा ठूलो डाइनासोर हो । क्रेटिसियस अवधिमा यो डाइनोसर सिकारी जीव, माछा र समुद्री कछुवाहरूसँगै बस्ने गरेको अनुमान गरिन्छ ।

वैज्ञानिकहरूले निकै ठूलो हाडको अवशेष भेटेका छन्, जसलाई ब्यूनस आयर्सको प्रयोगशालामा अनुसन्धानका लागि राखिएको छ । १ दशमलव ९० मिटर ठूलो चुकारोसोरसको हड्डीलाई प्रयोगशालामा लग्दा तीन भागमा विभाजन गरिएको थियो । एक भागको तौल १०० किलोग्रामभन्दा बढी रहेको थियो र यसलाई उठाउन कम्तीमा तीन जना मानिसको आवश्यकता परेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology