गोरखा, ७ जेठ । जिल्लामा भाडादर समायोजन गर्न योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) गोरखाले माग गरेको छ । आज जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक सिडियो पुस्कर रानालाई ज्ञापन पत्र बुझाउदैं भाडादर समायोजन गर्न माग गरेको वाइसियल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको कारण देखाउँदै पटक पटक सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने गरिएको थियो ।
‘हाल पेट्रोलियम पदार्थको मूल्य घटेको र जिल्ला सदरमुकामदेखि विभिन्न स्थानसम्म जाने कच्ची सडकहरु ग्राभेल गरिएको र ग्राभेल गरिएका सडकहरु कालोपत्रे गरिसकिएको हुँदा जिल्लाका यातायात व्यवसायी संघ संस्थाहरुसँग समन्वय गरी तत्काल यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्धारण गरेको भाडा दर कायम गर्न र भाडा दर समायोजन गर्न जोडदार माग गर्दछौं । ’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
आम सर्वसाधारणको दैनिक जीवनमा अत्यधिक उपयोग हुने यातायात क्षेत्रको व्याप्त मनपरी र विकृति नियन्त्रण गर्न भाडा दरको वैज्ञानिक समायोजन गर्न प्रशासन कार्यालयको सक्रिय पहल कदमीका निम्ति ज्ञापन पत्र मार्फत अनुरोध गरिएको उहाँले बताउनुभयो ।
