Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गाँजालाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतसंग जोड्नु पर्छ ः मुख्यमन्त्री पाण्डे


959
Shares

गाँजालाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतसंग जोड्नु पर्छ ः मुख्यमन्त्री पाण्डे

गोरखा, ४ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतको रुपमा जोड्न सकिने बताउनु भएको छ । गृहजिल्ला गोरखामा आज पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले गाँजा खेतीलाई खुल्ला गरेर जनताको आयआर्जनसंगै गण्डकी प्रदेश सरकारको आर्थिक बृद्धिसंग पनि यसलाई जोड्न सकिने बताउनु भएको हो ।

मुख्यमन्त्री पाण्डेले गाँजा औषधी हो वा लागू औषध हो भन्ने विषयमा बहस गरि एउटा निस्कर्षमा पुग्नुपर्ने बेला आएको समेत बताउनुभयो । ‘गाँजा लागू औषध हो कि औषधी हो यस बारेमा बहस हुनुपर्छ’, उहाँले भन्नुभयोे, ‘यदि यो औषधी पनि हो भने नियमनकारी निकायहरु निर्माण गरेर यसलाई औषधीको रुपमा प्रयोग किन नगर्ने भन्ने हो ।’

गाउँबाट ठूलो जनशक्ति बाहिर गइरहेको भन्दै मुख्यमन्त्री पाण्डेले जनताको आयआर्जन र प्रदेश सरकारको आम्दानीको स्रोतको रुपमा पनि गाँजा खेती र घरेलु रक्सीलाई उद्योगको रुपमा जोड्न सकिने बताउनुभयो । ‘यसलाई संघिय कानुनले पनि बन्देज गरेको छ, अब बहस चलाउनु आबश्यक छ, उहाँले भन्नुभयोे, ‘यसलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ भने यसको खेतीको बारेमा नयाँ सोचाइबाट अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’ गाँजा खेतीलाई उत्पादनसँग जोड्न सकिने मुख्यमन्त्री पाण्डेको भनाई छ ।

मुख्यमन्त्री पाण्डेले स्थानीय स्तरमा उत्पादन हुने घरेलु रक्सी र गाँजालाई कानुनी दायरमा ल्याउनु पर्ने समेत बताउनुभयो । ‘लोकल रक्सीलाई रिफाइन गरेर ब्राण्डिङ गर्न सकियो भने गाउँघरमा समेत रक्सीको सानातिना उद्योगहरु पनि सञ्चालन हुन्छ, उहाँले भन्नुभयो, ‘यसबाट स्वरोजगार सिर्जना हुन्छ र आर्थिक स्थितिमा सुधार पनि गर्न सकिन्छ ।’

मुख्यमन्त्री पाण्डेले गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याउने सन्र्दभमा केन्द्र सरकारसँग पनि छलफल गर्ने योजना रहेको बताउनुभयो । उहाँले गाँजालाई बैधानिकता दिन गण्डकी प्रदेश सरकारले मात्र कानून बनाएर नहुने भन्दै संघ सरकारले कानुन बनाउनका लागि पहल गरोस भन्ने प्रदेश सरकारको चाहाना रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology