गोरखा,३० वैशाख। लामो समय पानी नपरेको भन्दै पालुङटारका स्थानीयले आज जलधारा गरेका छन् । स्थानीयले शनिवार मस्र्याङदी र चेपेघाट दोभानमा रहेको शिवजीको मन्दिरमा पुजाआजा सहित जलधारा गरेर पानी मागेका हुन् ।
उनीहरुले पानी माग्दै बरुण, मेघ, इन्द्र, देवी र शिवजीको शिषेश पुजापाठ समेत गरेको पण्डित रोहीणीप्रसाद पौडेलले जानकारी दिनुभयो । १ बर्षसम्म पनि पानी नपरेको भन्दै तिथी मिलाएर पुजाआजा गरिएको हो । तिथि अनुसार अग्नि जुरेको दिन, अष्टमी तिथी र शिवजीको पुजा गर्ने दिन पनि जुरेकोले आजै पुजा गरीएको पुजारी पौडेलले बताउनुभयो।
यसरी पूजा गर्दा पानी पर्ने बिश्वास रहेकाले स्थानिय सबै मिलेर पुजा गरेका हुन । पुजाआजा सकेर फर्केका स्थानीयले बाटोमा पनि जलधारा गर्दै हिडेका थिए । टोलीलाई प्रत्येक घर बाहिर गाग्रीमा पानी राखेर स्थानीयले पानी फालिदिएका थिए । लामो समय खडेरी पर्दा घैया धान, मकै तथा अन्य कृषि कर्म गर्न नपाएका कारण जलधार गरिएको स्थानीय कृष्णप्रसाद भट्टले बताउनुभयो ।