गोरखा, २६ बैशाख । गोरखामा नेपाल एकिकरणका अभियान्ता तत्कालिन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अबसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
महिला उद्यमी संघ गोरखा र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा नगरपालिका भित्रका १५ जना महिलाहरुको सहभागिता रहेको छ । ‘अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मुर्ति बनाउने सम्बन्धी एक महिने एड्भान्स तालिम हो, नगरप्रमुख रानामगरले भन्नुभयो, ‘यस अघि एक महिने आधारभूत तालिममा सहभागी भएकाहरु दोस्रो पटकको एड्भान्स तालिममा सहभागी भएका छन् ।’
तालिमका क्रममा निर्माण गर्ने मूति विभिन्न कार्यक्रमहरुमा माया चिनोका रुपमा अतिथिलाई दिनका लागि समेत प्रयोग हुने उहाँको भनाई छ । ‘गोरखा भन्ने बित्तिकै नेपाल एकिकरणको उद्गम थलो र तत्कालिन पृथ्वीनारायण शाहले राज्य गरेको ठाउँको रुपमा बिश्वभर परिचित ऐतिहासिक जिल्ला हो, नगरप्रमुख रानामगरले भन्नुभयो,‘त्यसैले पनि गोरखा आउदा गोरखाको इतिहासलाई सम्झाउने मायाको चिनो लैजान धेरैजसो लालायित हुने भएकाले पनि तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सके प्रभावकारी हुनेछ ।’
यस्ता खालका सिपमुलक तालिमले रोजगारीको अबसर सृजना गर्नुका साथै आर्थिक आयआर्जनमा समेत व्यक्तिलाई आत्मानिर्भर बनाउन सक्ने भएकाले नगरपालिकाले सिपमुलक तालिममा जोड दिदै आएको उहाँले बताउनुभयो । तालिममा सहभागीहरुलाई मूर्ति बनाउने, मूर्तिका लागि आवश्यक पर्ने फ्रेम बनाउने साथै ऐन र फोटो फ्रेम बनाउन समेत सिकाइने तालिमको प्रशिक्षकका रुपमा योगेन्द्र गुरुङले बताउनुभयो । तालिममा प्रशिक्षहरु योगेन्द्र गुरुङ र शारदा खत्रीले सहभागीहरुलाई तालिम प्रदान गरिरहनु भएको छ ।
महिला उद्यमी संघ, नेपाल गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा एक महिने मूर्ति बनाउने तालिम सोमबारबाट सुरु भएको हो । नगरपालिकाले तालिम सहभागीहरुका लागि आबश्यक पर्ने सामग्री खरिद लागि तीन लाख रुपैया बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । सोमबारदेखि सुरु भएको तालिम आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिमको एक कार्यक्रमका बिच गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर (सपना पुन) ले उद्घाटन गर्नुभएको हो ।