गोरखा, २५ बैशाख । गोरखा नगरपालिका वडा नम्बर ११ स्थित तेह्रकिलो चामवोटे सडक निर्माणमा ठेकेदारले लापरवाही गरेको पाइएको छ । सडक निर्माणका क्रममा ढलान गर्नुपर्ने बाटोमा ठेकेदार कम्पनीले ढलानका लागि सोलिङ गर्नुपर्ने स्थानमा ठूला–ठूला ढुङ्गा तेस्र्याएर सोलिङ गरेको तथा रड राख्दा समेत मापदण्ड बिपरित राखेको पाइएको हो ।
सडक निर्माण गर्दा गुणस्तरहिन काम गरिरहेको भन्ने स्थानीयबासीको गुनासोपछि वडाध्यक्ष रामबहादुर खड्का आफै गएर निर्माणाधिन सडकको अनुमगन गर्दा गुणस्तरहिन काम भइरहेका पाइएको उहाँले बताउनुभयो । ‘६ इन्चको दुरीमा बुन्नुपर्ने रड ९/१२ सम्म पनि बुनेको पाइयो, वडाध्यक्ष खड्काले भन्नुभयो, ‘ढलानका लागि सोलिङ्ग गर्दा समेत झारा टार्नका लागि मात्र गरेजस्तो गरी काम गरेको पाइएपछि स्टमेट अनुसार काम गर्न भनेको छु ।’
अनुगमनपछि ठेकेदार कम्पनीलाई तत्काल मापदण्ड पुरा गरेर मात्र काम गर्न आफुले निर्देशन दिएको उहाँले बताउनुभयो । ‘वडा भित्रका कुनैपनि आयोजना तथा योजनाहरु मापदण्ड बिपरित र गुणस्तरहिन हुन दिन्न, वडाध्यक्ष खड्काले भन्नुभयो, ‘योजनाको स्टमेट अनुसार काम हुनुपर्छ गर्नुपर्छ ।’
वडाध्यक्ष खड्काको निर्देशन पछि पुनः भत्काएर सोलिङ्ग गर्नका ठेकेदारले काम रोकेको छ । शहरी बिकास मन्त्रालयको ४० लाख रुपैयाको बजेटमा उक्त सडक निर्माणको काम भइरहेको छ । बजेटले ढलान तथा नाला निर्माणका लागि बजेट बिनियोजन भएको हो ।