महोत्तरी २२ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैया घुस सहित लेखापाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन् ।
नेपाल प्रहरी विद्यालय बेलचौतारा तनहुँका तत्कालीन लेखापालसमेत रहेका विष्टलाई आयोगको टंगाल स्थित कार्यालयबाट खटिएको टोलीले शुक्रवार घूससहित काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो ।
भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेवापत् सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा बिष्टलाई बानेश्वरको एक होटेलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनको साथबाट ५० हजार नगद र एक लाख ५० हजारको चेक बरामद गरिएको छ ।