गोरखा, २१ बैशाख : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित चित्रेपोखरीमा निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । चित्रेपोखरीमा हालै निर्माण सम्पन्न भएको पाँच कोठे प्रहरी चौकीको एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाले जग्गा सहित भवन निर्माणका लागि आबश्यक पर्ने बजेट उपलब्ध गराएपछि चित्रेपोखरीमा अस्थायी प्रहरी चौकीको भवन निर्माण गरिएको थियो । सिरानचोक गाउँपालिकाले बिनियोजन गरेको २४ लाख ८० हजार ३७५ रुपैयाँमा भवन निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत उमेशकुमार यादवले जानकारी दिनुभयो ।
नवनिर्मित उक्त भवनमा चुनुवा कक्ष समेत रहेको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आज नै नवनिर्मित भवन जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गर्नुभएको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले बताउनुभयो । सिरानचोक गाउँपालिका भित्र रहेको चोरकाटे प्रहरी चौकी र धारापानी प्रहरी चौकीलाई एकएक थान मोटरसाईकल समेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।